सुर्खेत– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र पुनर्निर्माणमा सहयोग पुर्याउन सुर्खेतका दिपक–हिमा दम्पत्तीले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
विसी ग्रुप कर्णालीका अध्यक्ष युवा व्यवसायी दीपककुमार बुढाक्षेत्री र निर्देशक हिमा कुमारी उपाध्यायले बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश सापकोटाको समेत चेक हस्तान्तरण कार्यक्रममा उपस्थिति रहेको थियो ।
दिपक–हिमा दम्पत्तिले स्वर्गीय बुवा मानबहादुर बुढाको ९ औँ पुण्य तिथि र विसी ग्रुपद्वारा सञ्चालित भवानी छापाखानाको २७ औँ बार्षिकोत्सवको अवसरमा बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा आफू र आफ्नो व्यवसायको तर्फबाट सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले सहयोग गरिएको बताए ।
गत १० भदौमा रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि प्रभावितको खोज, उद्धार तथा पुनर्निर्माणका लागि सरकारले राहत तथा सहयोग रकम जुटाइरहेको छ । यही अभियानमा विसी ग्रुप कर्णालीले पनि आफ्नो तर्फबाट रकम उपलब्ध गराएको हो । यो सहयोगमा बुढा र उनकी श्रीमती हिमकुमारी उपाध्यायले विभिन्न सरकारी निकायबाट प्राप्त पुरस्कार तथा सम्मानबापत पाएको रकमसमेत समावेश गरेका छन् ।
विसी ग्रुपकी निर्देशकसमेत रहेकी उपाध्यायले राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७, राष्ट्रपति महिला उद्यमी समुन्नती पुरस्कार–२०० र कर्णाली प्रदेश सरकारको उत्कृष्ट महिला उद्यमी सम्मान–२०८२ बाट प्राप्त एक–एक लाख रुपैयाँ राहत कोषमा दिएकी छन् । बाँकी रकम विसी ग्रुप अन्तर्गतका विभिन्न व्यवसायिक घरनाबाट जुटाइएको हो ।
भवानी छापाखानाबाट तीन लाख ११ हजार एक सय एक रुपैयाँ तथा गंगामाला ट्राभल्स एण्ड टुर्स, युगआह्वान राष्ट्रिय दैनिक÷अल्फा कम्युनिकेशन कर्नर एण्ड बिज्ञापन एजेन्सी, रारा प्रिन्टिङ प्रेस प्रालि कोहलपुर र यस मल्टिविजनेस प्रालि काठमाडौंबाट एक–एक लाख रुपैयाँ सहयोग गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।