काठमाडौं– संसदको विकास समितिका सभापति एवं एमाले नेता रविन्द्र अधिकारीले आफूले विकास समितिमा रहेर सुस्त रहेको विकास निर्माणको कामलाई गति दिन अधिकतम कोसिस गरेको बताएका छन्।
नेता अधिकारीले संविधानसभा निर्वाचनमा आफूलाई निर्वाचित गराउने कास्की पोखराका जनतालाई धन्यवाद दिँदै विज्ञप्तिमा आफूले शिर झुकाउनुपर्ने गरी काम नगरेको बताएका छन्।
‘म विकास समितिको सभापति भएर जाँदासम्म राष्ट्रिय गौरवका विकास आयोजनाको गति सुस्त थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसैमध्येको एक उदाहरण थियो। अहिले पोखरा विमानस्थल निर्माण चरणमा प्रवेश गरिसकेको यहाँहरु सबैलाई थाहै छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘पोखराको खानेपानी शुद्धीकरण परियोजना अघि बढाउन होस् या यहाँको पर्यटकीय विकास र यातायात कनेक्टिभिटी गराउन र प्राकृतिक स्रोत साधनको संरक्षण अनि व्यवस्थित पोखराका लागि नीति निर्माण सहित शिक्षा स्वास्थ्य, सडक लगायत अन्य साना तिना विकास निर्माणका काममा हामीले निर्वाह गरेको भूमिका उल्लेख्य नै छन्।’
उनले विज्ञप्तिमा संविधानसभाले गरेका कामको प्रसंसा गर्दै प्रदेश नम्बर ४ केन्द्रित विकास निर्माणबारे उल्लेख गरेका छन्। नेता अधिकारीले भनेका छन्, ‘काली गण्डकी करिडोर, बेनी जोमसोम कोरला सडक तीव्र गतिमा स्तरोन्नति भइरहेको छ। कोरला नाका खुल्ने निश्चितप्रायः भइसकेको छ। भिमाददेखि कावासोती सडक निर्माण प्रक्रिया अगाडि बढेर ट्र्याक खुलिसकेको छ। यसले चीनको सिमाना कोरला नाकादेखि भारतको भैसालोटनलाई जोड्नेछ। यी प्रदेश नम्बर ४ को विकासका लागि सबैभन्दा ठूलो उपलब्धि हुन्।’
यसैगरी, नेता अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत आफूले खर्च गरेको ५० लाख रुपैयाँको खर्च विवरण समेत सार्वजनिक गरेका छन्। उनले निर्वाचन क्षेत्र विकास कोषमार्फत आफ्नो निर्वाचन क्षेत्र कास्की–३ मा आएको रकम कुन–कुन योजनामा खर्च गरियो भन्ने विवरण सार्वजनिक गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।