काठमाडौं– माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ।
माओवादीले आफ्ना मन्त्रीहरुलाई आजै सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। तर, उसले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने जनाएको छ।
केही बेरमा पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी दिने एक माओवादी नेताले बताएका छन्।
सरकारमा रहेकै बखत प्रतिपक्षी एमालेसँग माओवादीले चुनावी तालमेल र पार्टी एकता गर्ने दिशातिर गएपछि सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेससँग उसको सम्बन्ध बिग्रिएको थियो।
माओवादीको कदमलाई कांग्रेसले धोकाको रुपमा लिएको थियो र उसले माओवादीमाथि राजनीतिक नैतिकताको प्रश्न उठाइरहेको थियो। गत शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले कमल थापा नेतृत्वको राप्रपाका आठ जनालाई मन्त्री र राज्यमन्त्री बनाएपछि माओवादीमाथी सरकार छाड्न दबाब बढेको थियो।
त्यसो त प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई विनाविभागीय बनाउने र उसले सम्हालीरहेको मन्त्रालय राप्रपाका मन्त्रीलाई दिने तयारीबारे पनि चर्चा चलेको थियो। गत शनिबारै संसदको अन्तिम बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केही दिनमै मन्त्रीहरुको संख्या घट्नसक्ने संकेत गरेका थिए। उनको अभिव्यक्तिले पनि माओवादी मन्त्री निकालिने वा आफै निक्लने संकेत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।