धुलिखेल- प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यावदले मन्त्रिपरिषद् विस्तार भए पनि निर्वाचनलाई केही असर नपर्ने बताएका छन्।
काभ्रेपलाञ्चोकको धुलिखेलमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७४ का लागि ‘निर्वाचन सामग्री तथा व्यवस्थापन क्षेत्रीय प्रशिक्षक तालिम कार्यक्रम’मा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। सरकार भनेको राजनीतिक विषय भएकाले त्यसबाट निर्वाचनमा कुनै असर नपर्ने उनको भनाइ थियो।
यसअघि पनि निर्वाचनको बेलामा सरकारको परिवर्तन, मन्त्रिपरिषद् विस्तार तथा प्रधानमन्त्री समेत परिवर्तन भएको भन्दै उनले त्यस्तो बेलामा समेत निर्वाचन सम्पन्न गरेको बताए।
'मंसिर १० र २१ गतेको निर्वाचन मुख्य विषय भएकाले निर्वाचनलाई प्राथमिकता दिनुपर्छ,' उनले भने, 'सरकार थपघटको कुरामा निर्वाचन आयोग फस्नु हुँदैन।'
समानुपातिक तर्फको बन्द सूची सफल भएको र अरु कार्यक्रम पनि अगाडि बढिरहेको अवस्थामा सबैको साथ चाहिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।