काठमाडौँ- माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।
माओवादी केन्द्रका नेताहरु आयोगको कार्यालय पुगेर सूची दर्ता गरेका हुन्। प्रवक्ता पम्फा भुसालले आयोगले तोकेको समयसीमा ५ बजेभित्र नै सूची दर्ता गरेको जानकारी दिइन्।
'संविधान अनुसार सवै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुनेगरी सूची बुझाइएको छ,' उनले भनिन्, 'संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा मुलुक प्रवेश गरेको छ। निर्वाचन सम्पन्न गराउने दायित्व पूरा गर्न सबै वर्ग तथा क्षेत्रको उत्तिकै सहयोग र सद्भाव जरुरी छ।'
प्रतिनिधिसभाको कुल २७५ स्थानमध्ये समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद चयन हुनेछन्।
यस्तै, सातवटै प्रदेशमा प्रदेशसभाका लागि २२० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। संघीय संसद्को समानुपातिक सूचीमा खस-आर्य पुरुष र महिला १७/१७, जनजाति पुरुष र महिला १६/१६, थारू महिला ४ र पुरुष ३, दलित महिला ८ र पुरुष ७, मधेशी महिला ९ र पुरुष ८ एवं मुस्लिम महिला ३ र पुरुष २ प्रतिशत रहनेगरी सूची दर्ता गरिएको भुसालले जनाइन्। संघीय संसदमा जम्मा महिला ५७ र पुरुष ५३ को सूची बुझाइएको प्रवक्ता भुसालले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।