काठमाडौं- नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार कांग्रेसमा समायोजन हुने भएका छन्।
एक सातादेखि तयारी पार्टी एकीकरणको तयारी भए पनि कार्यविभाजनमा कुरा नमिल्दा एकीकरण भएको थिएन। कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री दिने प्रस्ताव गरेपछि गच्छदार पार्टी प्रवेश गर्न तयार भएका हुन्। कांग्रेसमा एक महामन्त्री मनोनीत हुन बाँकी छ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गच्छदार पार्टीमा आउन लागेको पुष्टि गरे। 'गच्छदारजी पार्टीमा आउँदै हुनुहुन्छ। आजै उहाँको पार्टी हाम्रोमा समायोजन हुने कार्यक्रम तय भएको हो,' पौडेलले भने।
गच्छादरले पनि पार्टीमा प्रवेश गर्न लागेको बताएका छन्। पार्टीमा बृहत् छलफलपछि कांग्रेससँग एकता गर्ने निर्णयमा आफू पुगेको उनले बताए। दुई सातादेखि गच्छदारले कांग्रेससँगको एकताबारे पार्टीभित्र छलफल गरेका थिए। 'पार्टीमा चुनावअघि नै कांग्रेससँग एकता गरेर जानुपर्ने कुरा आएपछि म साथीहरुको सल्लाह अनुसार कांग्रेससँग एकताको निर्णयमा पुगेको हुँ,' उनले भने।
मधेसकेन्द्रित दललाई समेत सहभागी गराएर बृहत् लोकतान्त्रिक मोर्चा बनाउने कांग्रेसको कसरत थियो। राजपा र संघीय समाजवादी फोरम नेपाल नआउने भएपछि गच्छादारलाई ल्याउने कांग्रेस शीर्ष नेताहरुले कसरत गरेका थिए। दुई पार्टीका नेताहरुबीच हिजो बेलुका र आज बिहान समेत छलफल भएको नेता जितेन्द्र देवले बताए।
गच्छदार २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनअघि कांग्रेस छोडेर तत्कालीन मधेसी जनाधिकार फोरम प्रवेश गरेका थिए। मूल पार्टी छोडेका गच्छदार १० वर्षपछि कांग्रेसमै फर्किन लागेका हुन्।
२०४८ देखि २०५६ सालसम्म उनी कांग्रेसका सांसद थिए। कांग्रेस फुटाएर शेरबहादुर देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेपछि उनी देउवासँगै गएका थिए।
कांग्रेसको राजनीति छाडेर २०६४ माघमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनाधिकार फोरम प्रवेश गरेका थिए।
२०६६ सालमा प्रचण्ड सरकारबाट बाहिरिपछि उनले पार्टी फुटाएर माधव नेपालको सरकारमा सहभागी भए। नेपाल सरकारमा सहभागिताका लागि उनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी गठन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।