काठमाडौं– गत भदौ १० गते रसुवाको लाङटाङ क्षेत्रमा भएको विनाशकारी विपद्को पछाडि जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम र पहिलेदेखिको भूगर्भीय कमजोरीले संयुक्त रूपमा भूमिका खेलेको नयाँ अध्ययनले देखाएको छ।
विश्व मौसमसम्बन्धी अनुसन्धान समूह ‘वर्ल्ड वेदर एट्रिब्युसन’ले बिहीबार सार्वजनिक गरेको अध्ययनअनुसार लाङटाङ लिरुङको करिब ५ हजार १५० मिटर उचाइको भागमा ठूलो चट्टानी संरचना खस्दा त्यससँगै हिमनदीको केही हिस्सा पनि भत्किएको थियो। चट्टान र बरफको यो ठूलो पहिरो तीव्र गतिमा मलबे बाढीमा परिणत हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा विनाश मच्चाएको अध्ययनको निष्कर्ष छ।
अनुसन्धानकर्ताका अनुसार विपद्को मूल कारण भूगर्भीय संरचनासँग जोडिएको भए पनि बढ्दो तापक्रम र हिमनदी तथा जमिनमा भइरहेको परिवर्तनले त्यस्तो संरचनालाई थप अस्थिर बनाएको हुन सक्छ।
अध्ययनले जुलाई–अगस्टमा उक्त क्षेत्रमा मानव सिर्जित जलवायु परिवर्तनका कारण तापक्रम औसतमा करिब १.५ डिग्री सेल्सियस बढी भएको देखाएको छ। उच्च हिमाली क्षेत्रमा तापक्रम बढ्दा चट्टानभित्र जमेको बरफ पग्लिनु, चट्टानका चिरामा पानीको दबाब बढ्नु तथा बरफले चट्टानलाई जोडेर राख्ने क्षमता घट्नुजस्ता कारणले पहाडको स्थिरता कमजोर हुन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।
वर्षौंदेखि घट्दै थियो हिमनदी
अध्ययनअनुसार लाङटाङ क्षेत्रमा रहेका हिमनदीहरू लामो समयदेखि पातलिँदै गएका छन्। त्यहाँका हिमनदीमा प्रतिवर्ष आधा मिटरभन्दा बढीको दरमा सतह घटिरहेको देखिएको छ।
सन् २०१० यता लाङटाङ–लिरुङ हिमनदीको क्षेत्रफल घट्ने गति पनि पहिलेको तुलनामा तीव्र भएको अध्ययनमा उल्लेख छ। हिमनदीको क्षयीकरणले उच्च क्षेत्रमा रहेको स्थायी जमेको जमिन अर्थात् ‘पर्माफ्रोस्ट’लाई समेत असर पार्न सक्ने र त्यसले चट्टानको स्थिरता घटाउन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ।
२०७२ को भूकम्पले पनि कमजोर बनाएको हुन सक्ने
नयाँ अध्ययनले २०७२ सालको विनाशकारी भूकम्पलाई पनि सम्भावित पृष्ठभूमि कारकका रूपमा औंल्याएको छ।
सन् २०१५ मा गएको ७.८ म्याग्निच्युडको भूकम्पले लाङटाङ लिरुङ क्षेत्रमा ठूलो चट्टान–हिमपहिरो निम्त्याएको थियो। त्यसयता उच्च क्षेत्रमा पहिरो जाने गतिविधि निरन्तर देखिएको भन्दै अनुसन्धानकर्ताहरूले उक्त भूकम्पले चट्टानी संरचनालाई दीर्घकालीन रूपमा कमजोर बनाएको हुन सक्ने बताएका छन्।
तर २०७२ को भूकम्पले अहिलेको विपद्मा कति प्रत्यक्ष भूमिका खेलेको थियो भन्ने यकिन गर्न भने अहिले उपलब्ध प्रमाण पर्याप्त नरहेको अध्ययनले स्पष्ट पारेको छ।
जलवायु परिवर्तन मात्रै दोषी होइन
अनुसन्धानकर्ताहरूले पछिल्लो विपद्लाई जलवायु परिवर्तनकै कारण भएको निष्कर्ष भने निकालेका छैनन्।
अध्ययनले जलवायु परिवर्तनलाई पहिलेदेखि रहेको भूगर्भीय जोखिमलाई थप अस्थिर बनाउने कारकका रूपमा व्याख्या गरेको छ। अर्थात् चट्टानी संरचनाको कमजोरी, २०७२ को भूकम्पको सम्भावित दीर्घकालीन असर, हिमनदीको क्षयीकरण र बढ्दो तापक्रमजस्ता धेरै पक्ष एकै ठाउँमा जोडिँदा विपद्को जोखिम बढेको देखाइएको छ।
नेपालले क्षति तथा हानि कोषमा दाबी गर्न अध्ययनलाई आधार बनाउने
यसैबीच नेपालले जलवायु परिवर्तनबाट भएको क्षति सम्बोधनका लागि संयुक्त राष्ट्रसंघअन्तर्गतको ‘फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’ बाट सहयोग माग्ने तयारी गरिरहेको छ।
नेपालले करिब २ करोड अमेरिकी डलर बराबरको रकम दाबी गर्ने तयारी गरेको बताइएको छ। यसअघि नेपाली अधिकारीहरूले उपग्रह तथा ड्रोनबाट खिचिएका तस्बिरसहित प्रारम्भिक प्रतिवेदन तयार गरिरहेका थिए। नयाँ अध्ययनले विपद्मा जलवायु परिवर्तनको भूमिका स्पष्ट पार्ने भएकाले नेपालको दाबीलाई थप वैज्ञानिक आधार दिने अपेक्षा गरिएको छ।
नेपालको कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले अध्ययनलाई नेपालको दाबीको मुख्य आधार बनाइने बताएका छन्।
यद्यपि कोषमा सहयोग माग्ने नेपालसहित विभिन्न देशका दाबीको कुल रकम उपलब्ध कोषभन्दा धेरै रहेको बताइएको छ। त्यसैले नेपालले दाबी गरेको सबै रकम प्राप्त गर्ने सुनिश्चितता भने छैन।
अध्ययनका अनुसार पछिल्लो विपद्मा बाढी अत्यन्त तीव्र गतिमा तलतिर फैलिएको थियो। चट्टान, बरफ र पानी मिसिएको मलबे बाढीले ठूलो क्षेत्रको बस्ती, सडक, पुल तथा जलविद्युत् संरचनामा क्षति पुर्याएको थियो।
विश्व मौसम एट्रिब्युसनका अध्ययनहरू घटनापछि छिटो तयार गरिने वैज्ञानिक अध्ययन हुन्। समूहका अनुसार यस्ता अध्ययनमा प्रयोग हुने विधि छुट्टै वैज्ञानिक प्रकाशनमार्फत समीक्षित भइसकेको छ, तर प्रत्येक द्रुत अध्ययन आफैंमा पियर–रिभ्यु जर्नलमा प्रकाशित भएको हुनैपर्ने हुँदैन। बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यम र बिहीबार प्रकाशित अध्ययन प्रतिवेदनका आधारमा तयार पारिएको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।