काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसम्बन्धी बैठकमा सहभागी हुन रामेछापको मन्थली पुगेका कांग्रेस नेता भरत चौलागाईं रकम असुली गरेको आरोपमा पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चौलागाईंलाई बिहीबार साँझ मन्थलीबाट नियन्त्रणमा लिएको हो। उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग गरी रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार चौलागाईंले रकम असुलीका लागि कुराकानी तथा डिल गरेको भनिएको अडियोसमेत फेला परेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा केही प्रमाण भेटिएपछि त्यसको सत्यापन तथा थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको चतुर्वेदीले बताए।
चौलागाईं कांग्रेसको संस्थापन पक्षमा रहेका नेता तथा पार्टीका महाधिवेशन प्रतिनिधिसमेत हुन्। १५औँ महाधिवेशनको तयारीका लागि आयोजित बैठकमा सहभागी हुन मन्थली पुगेका बेला उनलाई सीआईबीले पक्राउ गरेको हो।
सीआईबीले पक्राउपछि उनलाई काठमाडौं ल्याएर घटनाबारे थप अनुसन्धान गर्ने जनाएको छ।
रकम असुलीका लागि उच्च पदस्थ व्यक्तिको नाम प्रयोग गरिएको भनिएको विषयमा सीआईबीले अडियोसहितका प्रमाणको सत्यापन गरिरहेको जनाएको छ। आरोप पुष्टि हुन बाँकी रहेकाले अनुसन्धानपछि घटनाको थप विवरण खुल्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।