काठमाडौं– लोकसेवा आयोगले सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सरकारसमक्ष सिफारिस गरेको छ।
लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवहरू रुद्रसिंह तामाङ, आभा श्रेष्ठ र चक्रबहादुर बुढालाई सचिवका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
प्रशासन सेवा समूहमा हाल दुई सचिव पद रिक्त छन्। तीमध्ये एउटा रिक्त पदमा बढुवाका लागि समितिले तीन जनाको नाम वरियताक्रमअनुसार सिफारिस गरेको हो।
सिफारिस सूचीको पहिलो नम्बरमा रुद्रसिंह तामाङ छन्। अब मन्त्रिपरिषद्ले सिफारिसका आधारमा सचिव बढुवा गर्नेछ।
पछिल्लो समय सरकारले सचिव बढुवामा सिफारिस सूचीको पहिलो नम्बरमा रहेका सहसचिवलाई प्राथमिकता दिने अभ्यास गर्दै आएको छ। यही अभ्यास कायम रहे तामाङ पहिलो रिक्त पदमा सचिव बन्ने सम्भावना छ।
त्यसपछि अर्को सचिव पद रिक्त हुँदा हालको सिफारिस सूचीअनुसार आभा श्रेष्ठ पहिलो नम्बरमा रहनेछिन्। यसले श्रेष्ठ पनि आगामी चरणमा सचिव बन्ने बाटो खोल्नेछ।
श्रेष्ठ सचिव बनेसँगै निजामती सेवामा महिला सचिवको संख्या थपिनेछ।
समितिले सिफारिस गरेका तीनै जनाको नाम अब मन्त्रिपरिषद्मा जानेछ। मन्त्रिपरिषद्को निर्णयपछि मात्र सचिव बढुवाले औपचारिकता पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।