काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो दुई महिनामा सुन तस्करी नियन्त्रणका क्रममा ४५ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १ किलो ६४३ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउन १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा विदेशबाट नेपाल फर्किने यात्रुलाई प्रयोग गरी सुन भित्र्याउने प्रयासका क्रममा उनीहरू पक्राउ परेका हुन्।
बरामद सुनको अन्दाजी मूल्य ४ करोड २५ लाख ७३ हजार १८६ रुपैयाँ रहेको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विदेशबाट फर्किएका केही नेपाली यात्रुलाई निश्चित रकम वा ज्यालाको प्रलोभन देखाएर तस्करहरूले सुन बोकाएर नेपाल भित्र्याउने प्रयास गरेको खुलेको छ।
विमानस्थलमा यात्रु तथा सामानको निगरानी, जोखिममा आधारित सुरक्षा जाँच, एक्स–रे स्क्रिनिङ तथा सूचनाका आधारमा गरिएको निगरानीका क्रममा सुन बरामद गरिएको कार्यालयले जनाएको छ।
पक्राउ परेका व्यक्ति र बरामद सुनका सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
भन्सार छलीका विद्युतीय सामानसहित थप १० जना नियन्त्रणमा
यही अवधिमा विमानस्थलबाट भन्सार छली गरेर ल्याइएका मोबाइल, ल्यापटप, भेपलगायत विद्युतीय सामग्रीसहित थप १० जना पनि नियन्त्रणमा परेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट करिब ८८ लाख २२ हजार रुपैयाँ बराबरका विद्युतीय सामग्री बरामद भएको छ।
भन्सार कानुन तथा नियमविपरीत ती सामग्री नेपाल भित्र्याइएको पाइएपछि नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
यात्रुलाई ‘भरिया’ नबन्न प्रहरीको आग्रह
विमानस्थल सुरक्षा कार्यालयले सुन तथा अन्य अवैध सामग्री ओसारपसारमा यात्रुलाई प्रयोग गर्ने प्रयास बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।
विदेशबाट फर्किँदा कसैको प्रलोभन, दबाब वा प्रभावमा परी अपरिचित व्यक्तिको सामान बोक्न तथा गैरकानुनी वस्तु ओसारपसार नगर्न प्रहरीले यात्रुलाई अनुरोध गरेको छ।
अवैध ओसारपसार नियन्त्रणका लागि विमानस्थलमा सूक्ष्म निगरानी, सूचना संकलन, एक्स–रे जाँच तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाइएको कार्यालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।