काठमाडौं– छत्तीसगढको घना जंगलमा कुनैबेला जुन हातमा राइफल हुन्थ्यो र जसलाई देख्नेवित्तिकै समाजमा आम मानिस भयवित हुन्थे, आज तीनै महिला सुन्दरता र आत्मविश्वासको नयाँ उदारहण बनेका छन् । विद्रोह र हिंसात्मक बाटो छाडेर आज उनीहरु सामाजको मूल प्रवाहमा फर्किएका छन् । यीनै महिलाहरुले रंगीविरंगी पहिरनमा र्याम्पमा जब कदम राखे, तब त्यहाँ उपस्थित मानिहरु दंग परे । उनीहरुको मुहारको मुस्कान र ओजपूर्ण उपस्थितिले सबैको ध्यान खिच्यो र सामाजिक सञ्जालदेखि लिएर सबैतिर यसको चर्चा भइरहेको छ ।
यो आश्चर्यचकित पार्ने र ऐतिहासिक दृश्य शुक्रबार रायपुरको पन्डित दीनदयाल उपाध्याय अडिटोरियममा आयोजित राज्यस्तरीय बुनकर सम्मेलनमा देखिएको हो । राष्ट्रिय हथकरघा दिवसको अवसरमा सुकमा जिल्लाका पूर्वलडाकु ९ जना महिलाले छत्तीसगढको पारम्परिक ‘कोसा सिल्क’ र ह्यान्डलुमबाट निर्मित शानदार पहिरन लगाएर क्याटवाक गरे ।
जुन क्षेत्रलाई कुनै समय भयका रुपमा हेरिन्थ्यो । अहिले त्यहाँकी महिलाहरु पारम्परिक पोशाकमा क्याटवाक गर्दै गरेको दृश्यले समाजमा परिवर्तनका लागि हतियार नै उठाउनुपर्छ भन्ने मान्यलाई गलत सावित गरेको छ ।
पूर्व लडाकूको पुनःस्थापना प्रयासअन्तर्गत आयोजित स्वदेशी फेसन शोमा उनीहरुको सहभागिता उत्साहपूर्ण बन्यो । सुकमा प्रहरी प्रमुख (एसपी) मयंक गुर्जरका अनुसार उक्त कार्यक्रमले पूर्व लडाकू महिलालाई पुनःस्थापित जीवनतर्फ अघि बढ्नुका साथै स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने अवसरसमेत दिएको छ।
केही महिलाका लागि र्याम्पमा हिँड्ने अनुभव उनीहरूले जीवनमा पहिलोपटक गरेका थिए। पामेड एरिया कमिटीमा काम गरेकी एक पूर्व महिला विद्रोही लडाकूले सन् २०२६ मा आत्मसमर्पण गरेपछि रायपुर पुगेर फेसन शोमा सहभागी हुनुअघि ६ दिनको तालिम लिएको बताइन्।
उनले समाचार एजेन्सी एएनआईसँग भनिन्, ‘म पामेड एरिया कमिटीमा काम गर्थें। मैले सन् २०२६ मा आत्मसमर्पण गरेँ। हामी हालै रायपुर गएका थियौँ। त्यहाँ बम्बईबाट आएका व्यक्तिहरूले हामीलाई तालिम दिए। केही प्रमुख मन्त्रीहरू पनि आउनुभएको थियो। तालिम ६ दिनको थियो। हामीले यस्तो काम पहिलोपटक गरेका थियौँ। हामीले निकै रमाइलो गर्यौँ।’
अर्की सहभागी पूनम देवीले आफ्नो नक्सली आन्दोलनसँगको यात्रा सन् २००७ को नोभेम्बरबाट सुरु भएको बताइन्। उनले सन् २०२५ जुलाई १२ मा आत्मसमर्पण गर्दै नक्सली जीवन त्यागेको जानकारी दिइन्।
उनले भनिन्, ‘मैले जुलाई १२, २०२५ मा आत्मसमर्पण गरेकी थिएँ। मलाई यो कार्यक्रम मन पर्यो। हामीलाई यसको लागि तालिम पनि दिइएको थियो। म नोभेम्बर २००७ मा विद्रोहमा लागेकी थिएँ । र २०२५ मा छाडेँ।’
एसपी गुर्जरका अनुसार यी महिलाहरूको सहभागिता केन्द्र सरकार र छत्तीसगढ सरकारको पुनःस्थापना नीतिअन्तर्गत आत्मसमर्पण गरी मूलधारको समाजमा फर्किन चाहने पूर्व नक्सलीलाई उपलब्ध गराइँदै आएका अवसरको एउटा उदाहरण हो।
उनले भने, ‘भारत सरकार र छत्तीसगढ सरकारको पुनःस्थापना नीतिअन्तर्गत आत्मसमर्पण गरेका नक्सलीलाई विभिन्न लाभ र सुविधाहरू प्रदान गरिँदै आएका छन्। यही सन्दर्भमा राष्ट्रिय हातेकरघा दिवसका अवसरमा सुकमामा आत्मसमर्पण गरेका नौ जना महिला स्वदेशी फेसन शोमा सहभागी भए।’
ती नौ महिलाले नक्सली संगठनभित्र फरक–फरक जिम्मेवारी सम्हालेका थिए। केही पामेड एरिया कमिटीसँग आबद्ध थिए भने केही बटालियन नम्बर १ का वरिष्ठ नक्सली कमान्डरका गनरका रूपमा काम गर्थे। एक महिला भने संगठनभित्रको विद्यालयमा शिक्षिकाका रूपमा कार्यरत थिइन्।
गुर्जरका अनुसार उनीहरूमध्ये केही पामेड एरिया कमिटीमा कार्यरत थिए भने केही बटालियन नम्बर १ का प्रमुख नक्सली कमान्डरका गनर थिए। एक जना आत्मसमर्पण गरेकी महिला नक्सली संगठनको विद्यालयमा शिक्षिकाका रूपमा काम गर्थिन्।
उनीहरूको विगत हतियारसँग पनि जोडिएको थियो। एसपी गुर्जरले सहभागीमध्ये एक महिलाले इन्सास राइफलसमेत बोकेको जानकारी दिए। उनका अनुसार यी महिलाहरूले करिब ६ महिनाअघि आत्मसमर्पण गरेका थिए।
अहिले भने उनीहरू हतियार बोकेको विगतबाट बाहिर निस्कँदै नयाँ सीप र अवसरको खोजीमा छन्। पुनःस्थापना प्रक्रियाअन्तर्गत उनीहरूलाई आत्मनिर्भर बन्न र सामान्य जीवन निर्माण गर्न विभिन्न अवसरतर्फ अघि बढाउन प्रोत्साहित गरिएको छ।
गुर्जरले फेसन शोमा महिलाहरूको सहभागिताले उनीहरूको सोचमा आएको परिवर्तन देखाएको र पुनःस्थापना प्रक्रियाप्रतिको उनीहरूको विश्वास बढ्दै गएको संकेत गरेको बताए। उनले भने, ‘उनीहरू अहिले स्वदेशी उत्पादनको सक्रिय रूपमा प्रवर्द्धन गरिरहेका छन् र आफ्ना कलात्मक सीपलाई निखारिरहेका छन्।’
कुनै समय बस्तरका जंगल र नक्सली हिंसाको बीचमा जीवन बिताएका यी महिलाका लागि हातेकरघाको पहिरनमा र्याम्पमा हिँड्नु केवल एउटा फेसन कार्यक्रमको सहभागिता मात्र होइन, उनीहरूको विगतबाट टाढिँदै सामान्य जीवनतर्फ अघि बढेको देखिने महत्वपूर्ण कदमका रूपमा प्रस्तुत भएको छ।
हतियारको ठाउँमा अहिले सीप, आत्मविश्वास र नयाँ अवसर खोजिरहेका यी महिलाको र्याम्प यात्रा उनीहरूको जीवनमा आएको परिवर्तनको एउटा दृश्यात्मक उदाहरण बनेको छ। विभिन्न एजेन्सीहरुको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।