हेटौँडा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभाका चार सांसदलाई पदमुक्त गर्न गरेको सिफारिस प्रदेशसभा सचिवालयले अस्वीकृत गरेको छ।
प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले राप्रपाको कारबाही कानुनी प्रक्रिया तथा प्राकृतिक न्यायको सिद्धान्तअनुकूल नरहेको ठहर गर्दै सांसदहरूलाई पदमुक्त नगर्ने निर्णय गरेकी हुन्।
निर्णयसँगै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापासहित राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिको प्रदेशसभा सदस्य पद यथावत् रहने भएको छ।
प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईंका अनुसार राप्रपा केन्द्रीय कार्यालयबाट प्राप्त पत्र अध्ययन गर्दा सांसदहरूलाई कारबाही गर्ने कानुनी आधार र आवश्यक प्रक्रिया पूरा नभएको देखिएको हो।
उनका अनुसार कुनै ह्विप उल्लङ्घन नभएको अवस्थामा सम्बन्धित संसदीय दलको प्रक्रियाबिना केन्द्रीय कार्यालयबाट सिधै कारबाहीको जानकारी गराइएको पाइएको छ।
सचिवालयले सांसदहरूलाई स्पष्टीकरण वा सफाइ पेस गर्न १२ घण्टाको मात्र समय दिइएको र पत्र प्राप्त गरेको प्रमाणसमेत संलग्न नभएको जनाएको छ। यसलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत मानिएको छ।
त्यस्तै, राप्रपाको विधानअनुसार अनुशासन समितिको सिफारिसबिना केन्द्रीय कार्यसम्पादन समितिले सिधै निष्कासनको निर्णय गरेको भन्दै सचिवालयले उक्त निर्णय प्रथम दृष्टिमै त्रुटिपूर्ण देखिएको जनाएको छ।
राप्रपा केन्द्रीय कार्यालयले पत्रमार्फत चारै सांसदलाई निष्कासन गरिएको जानकारी दिँदै उनीहरूको पद रिक्त गर्न प्रदेशसभा सचिवालयसँग माग गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।