काठमाडौं– ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ भन्दै उद्योग मन्त्री गौरी कुमारीले दिएको अभिव्यक्ति फिर्ता लिन उपभोक्ता हित संरक्षण मञ्चले माग गरेको छ।
मञ्चका अध्यक्ष ज्योति बानियाँले ग्यासको अभावका विषयमा मन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत मन्त्रीले समस्याको वास्तविक कारण पहिचान गर्नुपर्ने बताएका छन्। उनले बजारमा देखिएको ग्यास अभावलाई कृत्रिम रूपमा सिर्जना गरिएको दाबी गर्दै त्यसको कारण पहिल्याउनुपर्नेमा जोड दिएका छन्।
बानियाँले ग्यास अभावको परिणाममाथि मात्र टिप्पणी गर्नुभन्दा त्यसको कारण र त्यसमा संलग्न पक्षबारे अध्ययन गर्नुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टिप्पणी सुन्दा तपाईंहरूलाई अझै कृत्रिम अभाव, लूटखोर, भू–अर्थराजनीतिको बोध भएजस्तो लागेन। तपाईंहरूको बुझाइ र बोलीले हामी उपभोक्ताले अझै हण्डर पाइने भयो।’
ग्यास आपूर्तिमा देखिएको समस्याले उपभोक्ता प्रत्यक्ष रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै बानियाँले सरकारको ध्यान अभावको दीर्घकालीन समाधानतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।
उनले मन्त्रीको अभिव्यक्ति समस्याको समाधान खोज्नेभन्दा आक्रोश व्यक्त गर्ने शैलीमा आएको भन्दै त्यसलाई फिर्ता लिनसमेत माग गरेका छन्।
ग्यास आपूर्ति र वितरणमा देखिएका समस्या समाधान गर्न सरकारले उद्योगी, व्यवसायी तथा सम्बन्धित निकायसँग आवश्यक छलफल गरी वास्तविक अवस्था पहिचान गर्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।