लमजुङ- पश्चिमाञ्चलमा पहिलोपटक सुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ।
क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चिया बगानले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको हो । पछिल्लो समय बगान हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भुजुङकी चिया किसान मीनकुमारी गुरुङले बताइन्।
हिमालकै काखमुनि रहेर चियाबारीमा रमाउन सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय घलेगाउँ र ग्रामीण पर्यटकीय गाउँ भुजुङ पर्यटकको प्रमुख गन्तव्य स्थल बनेको छ।
क्वहोलासोथार गाउँपालिकाका अध्यक्ष प्रेम घलेले प्राकृतिक सुन्दरतासँगै चिया बगान पर्यटकको रोजाइ पर्नु सुखद भएको बताए।
'पहिले यहाँको प्रकृति र संस्कृति हेर्न पर्यटक आउँथे, अहिले चियाबारीको आकर्षण पनि थपिएको छ', उनले भने।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र आयोजना (एक्याप) भुजुङको पहलमा २०५५ सालदेखि घलेगाउँमा चियाखेती सुरु गरिएको हो । एक्याप क्षेत्रभित्र भुजुङमा २५० रोपनी, पसागाउँमा १०० र घलेगाउँमा ७० गरी हालसम्म ४२० रोपनी क्षेत्रफलमा चियाखेती गरिँदै आएको छ।
चियाखेती विस्तारका लागि जिल्ला भू–संरक्षण कार्यालयले समेत सहयोग गरेको छ।
प्रशस्त उत्पादन भएर पनि राम्रो प्रशोधन हुन नसक्दा लमजुङको चिया बजारसम्म आउन सकेको छैन । यहाँ उत्पादित चिया गाउँमा आएका पर्यटकका लागि र गाउँ बाहिर रहेका आफन्तजनलाई कोसेलीका रुपमा पठाउने गरेको स्थानीयवासी बताउँछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।