नेपालगञ्ज– मध्य पश्चिमका पहाडी तथा हिमाली जिल्लाहरुमा जडिबुटीको संकलन र भारततर्फ हुने निकासी बर्सेनि घट्दै गएको छ।
आम्दानीको मुख्य स्रोत जडिबुटीको संकलन र निकासी घट्दा त्यसमा प्रत्यक्ष रुपमा संलग्न हजारौंको आम्दानी प्रभावित भएको छ।
जडिबुटी खेती सम्बन्धी प्रस्ट नीति र कार्यक्रम नहुँदा किसानले आफ्नो खेतबारीमा जडिबुटी खेती गर्न सकेका छैनन् । जडिबुटीको संकलन व्यवस्थित रुपमा नगरिँदा जडिबुटी मासिने र उत्पादन घट्ने क्रम देखिएको छ।
वन जंगलमा जडिबुटी मासिने क्रम बढेको र किसानले जडिबुटी खेती गर्ने क्रम अझै सुरु नभएकाले जडिबुटी संकलन र विदेशमा निकासी घट्दै गएको हो।
जडिबुटी संकलन र निकासी सम्बन्धी वर्षौं पुराना अव्यावहारिक नीति परिमार्जन हुन नसक्दा जडिबुटी व्यवसाय खस्किँदै गएको नेपाल जडिबुटी व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष राजेश जैनले बताउँछन्।
जडिबुटीको उत्पादन वृद्धिका लागि जडिबुटी खेतीमा किसानलाई प्रोत्साहित गर्ने, अध्ययन अनुसन्धान गर्ने र जडिबुटी प्रशोधन केन्द्र खोल्ने जस्ता काम अझै प्रभावकारी रुपमा हुन सकेको छैन । जडिबुटीको संकलन अनुमति र निकासीमा देखिएका समस्या हटाउनुपर्ने आवाज वर्षौंदेखि उठिरहे पनि समस्या समाधानतर्फ प्रगति हुन सकेको छैन।

जडिबुटी खेती गर्ने किसानलाई तालिम, सहुलियत दरमा ऋण उपलब्ध गराउने, जडिबुटी उद्योग स्थापनाका लागि अनुदान दिने जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवसायीहरु बताउँछन्।
जडीबुटीहरु प्रशोधन गरेपछि जडीबुटीहरु व्यवसायीले आफ्नो उत्पादनलाई स्वतन्त्र रुपमा बिक्री वा निकासी गर्न नपाउँदा समस्या भएको जडिबुटी व्यवसायी संघका अध्यक्ष याकुब अन्सारीले बताए।
‘प्रशोधित उत्पादन स्वतन्त्र रुपमा बिक्री–वितरण गर्न नपाउने कानुनी व्यवस्थाले व्यवसायीहरु मारमा परेका छन्’, उनले भने।
अर्कातिर, जडिबुटी भण्डारनका लागि शीत भण्डार नहुँदा जडिबुटी व्यवसायीहरुले बर्सेनि लाखौंको क्षति बेहोर्दै आएका छन्।
नेपालबाट निकासी हुने जडिबुटीहरुको नाम भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश नहुँदा निकासीमा अनेकौं समस्या छन् । जडिबुटीको निकासीलाई सहज बनाउनेतर्फ सरकारी निकायहरुबाट पहल नहुँदा जडिबुटीको कारोबार फस्टाउन नसकेको व्यवसायीहरुको अनुभव छ।
नेपालगञ्ज नाका हुँदै वार्षिक रुपमा करिब १ अर्ब रुपैयाँ बराबरको जडिबुटी भारत जाने गरे पनि निकासी परिमाण बर्सेनि घट्दै गएको छ।
जडिबुटीको भारत निकासी:
आर्थिक वर्ष परिमाण (केजी )
२०७०/०७१ ४७,३५,०६४ /-
२०७१/०७२ ४६,०९,२८७ /-
२०७२/०७३ ४६,३८,२१५ /-
२०७३/०७४ ४०,५०,६७४ /-
स्रोत: जडिबुटी व्यवसायी संघ, बाँके
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।