काठमाडौं- संविधान कार्यान्वयनलाई गतिशीलता दिन संसद् सफल भएको शीर्ष नेताहरुले बताएका छन्। व्यवस्थापिका संसदको अन्तिम बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षले रुपान्तरित संसदले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन समयमै उपलब्ध गराएर कुशलता प्रस्तुत गरेको बताएका हुन्।
बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले रुपान्तरित व्यवस्थापिका संसदले निर्वाचन सम्बन्धी कानुन निर्माण र संविधान कार्यान्वयनका लागि आवश्यक अन्य कानुन निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको बताए।
'संविधान अनुसार गर्नुपर्ने कानुन समयमै निर्माण गरेर संविधान कार्यान्वयनमा संसदले खेलेको भूमिका अहंम छ,' देउवाले भने।
सरकारले निर्वाचन समयमै सम्पन्न गर्ने भन्दै उनले आशंका व्यक्त नगर्न सबैलाई आग्रह गरे।
'मेरो नेतृत्वको सरकारले दुई तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ, आसन्न निर्वाचन पनि समयमै हुन्छ,' उनले भने।
यस्तै बैठकमा एमाले अध्यक्ष केपी ओलीले संवैधानिक व्यवस्था अनुसार गर्नुपर्ने निर्वाचनका कानुन समयमै उपलब्ध गराएर संसदले कुशलता प्रस्तुत गरेको बताए। उनले भने, 'संविधान अनुसार हुनुपर्ने निर्वाचनका लागि आवश्यक कानुन समयमै दिएर संसदले मुलुकलाई संविधान कार्यान्वयनको बाटोमा अग्रसर गराएको छ।'
सरकारले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद् विस्तार गरेर लज्जास्पद काम गरेको भन्दै उनले सरकारलाई व्यंग्य समेत गरे। सरकारले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद् विस्तार गरेको उनको आरोप थियो।
प्रधामन्त्री शेरबहादुर देउवालाई व्यंग्य गर्दै उनले भने, 'प्रधामन्त्रीलाई थप मन्त्री किन चाहियो, निर्वाचन गराउन त मन्त्री आवश्यक छैन। कुस्ती खेल्न चाहिएको त होइन होला?' ओलीले मन्त्रिपरिषद् विस्तार सम्बन्धमा प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा जाँदा हास्यास्पद टिप्पणी गरेको भन्दै कांग्रेसका नेताहरुलाई सभापतिलाई हिसाब सिकाउन आग्रह गरे।
एमाले अध्यक्ष ओलीको प्रश्नको जावाफ दिँदै प्रधानमन्त्री देउवाले संविधानले दिएको अधिकार अनुसार नै मन्त्रिपरिषद विस्तार गरेको बताए। उनले उल्टै प्रश्न गरे, संविधान अनुसार मन्त्रिपरिषद बिस्तार गर्न नपाउने?
बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुपान्तरित संसद संविधान कार्यान्वयनमा सफल भएको बताए। उनले संविधान संशोधन गर्न भने वर्तमान संसदले नसकेको भन्दै आगामी संसदले त्यो कार्यभारलाई पूरा गर्ने उल्लेख गरे।
'संविधानलाई गतिशील बनाउन संसदले प्रयास गरे पनि सफल भएन आगामी संसदले संविधान संशोधन गरेर संविधान सर्वस्वीकार्य बनाउँछ,' उनले भने।
अर्को प्रसंगमा प्रचण्डले आफ्नो दलले कांग्रेस र एमाले दुवैसँग सहकार्य नछाड्ने बताए।
अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न कांग्रेससँग र वैचारिक हिसाबले एमालेसँग सहकार्य गर्दै माओवादी केन्द्र अघि बढ्ने बताएका हुन्। उनले एमालेसँगको चुनावी तालमेल कांग्रेस विरुद्ध नभएको भन्दै यसबाट नअत्तालिन कांग्रेसलाई आग्रह गरे।
'हाम्रो तालमेल कांग्रेस विरुद्ध होइन। संविधान अनुसार हुने शान्तिपूर्ण निर्वाचनमा सहभागी हुने अधिकारका लागि एमालेसँग हाम्रो सहकार्य हो,' प्रचण्डले भने। माओवादी केन्द्र सबै दलसँग सहकार्य गरेर परिवर्तनलाई संस्थागत गर्न अघि बढ्ने प्रचण्डको भनाइ थियो।
२०७२ साल असोज २ गते संविधान जारी गरेपछि संविधानसभा व्यवस्थापिका संसदमा रुपान्तरण भएको थियो। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन कार्यतालिका अनुसार आइतबार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको सूची बुझाउने तालिका छ। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सुरु भएकाले संसदको अवधि शनिबार नै सकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।