काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ।
कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा अधिकांश बदली रही बाँकी भू-भागमा साधारणतया बदली रहेको छ। बागमती प्रदेशका एक-दुई स्थानमा तथा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
आज बिहानको मापन अनुसार कर्णाली, महाकाली र बबई नदीहरू को बहाव सतर्कता आसपास रहेको र कोशी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र कन्काई नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बुधबार कैलाली, कञ्चनपुर, र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ। त्यस्तै दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
त्यसैगरी, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, रामेछाप, सोलुखुम्बु, भोजपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु,खोटाङ, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।