काठमाडौँ- ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘मैजारो’ सार्वजनिक भएको छ। गीत प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ।
गीतले मुख्य पात्रहरूका जीवनकथा बोकेको छ। विशेष गरी गन्धर्व समुदायको प्रेम, वियोग, बिछोड र पीडालाई प्रस्तुत गरेको छ। भिडियोमा प्रमुख कलाकार विजय बराल (पूर्ण बहादुर), अञ्जना बराइली र बालकलाकार स्वायम् केसीको अभिनय रहेको छ।
गीतमा पूर्ण बहादुरलाई श्रीमतीले छाडेपछि गाउँगाउँमा सारङ्गी बजाउँदै आफ्नो पीडा सुनाइरहेको देख्न सकिन्छ। उनी गीतसँगै पीडा मात्रै सुनाउँदैनन् सँगै रहेको सानो छोरोप्रतिको जिम्मेवारी रहेको पनि देखाउँछन्। यसले गीत र संवादमार्फत सिनेमाको कथा गीतले संकेत गरेको छ।
सारङ्गीको धुनसँगै गीतमा प्रेम र पीडाको कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। भिडियोमा पूर्णबहादुरले आफ्नो छोरालाई सारङ्गी बजाउन सिकाउँदै गरेको दृश्यले पारिवारिक विरासत र जातीय पेसालाई देखाउने प्रयास गरेको छ।
यसअघि चलचित्रका अन्य दुई गीत ‘काँधेकुरी’ र ‘दाहिने हातैमा’ सार्वजनिक भइसकेका छन्।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो चलचित्र कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।
‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा हो। सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन्।
संगीतकार प्रशान्त शिवाकोटीले चलचित्रमा संगीत दिएका छन्, जसमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।