• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक, ४३ जनालाई कारबाही सिफारिस [पूर्णपाठ]

मृत्युअघि अस्पतालको शय्याबाटै आयोग सदस्य डा उपेन्द्र देवकोटाले प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका थिए
64x64
नेपाल लाइभ बिहीबार, चैत २९, २०८०  ११:२०
1140x725

काठमाडौं- सरकारले ६ वर्षपछि ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनमा मुख्य विषयहरु स्वास्थ्यखबरसहित सञ्चारमाध्यमहरुले ६ वर्षअघि नै सार्वजनिक गरेका थिए।

तर सरकारले भने प्रतिवेदन सार्वजनिक नगरी राखेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको हो। 

चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ। 

६ वर्षअघि नै प्रतिवेदनमा दोषि देखिएका ४३ जनाका विषयमा समाचार बनाएको थियो। २०७४ माघ २३ गते स्वास्थ्यखबरले 'यी हुन् चिकित्सा शिक्षा जाँचबुझ आयोगबाट कारबाहीको सिफारिसमा परेका ४३ जना (कसलाई के कारबाही?)' शिर्षकमा समाचार प्रकाशित गरेको थियो। त्यसको भोलिपल्ट २४ गते 'चिकित्सा शिक्षा आयोगले दोषी ठहर गरेकालाई कारबाही गर' शिर्षकमा सम्पादकीय लेखेका थियौं।

प्रतिवेदन गोप्य राखेर सरकारले कारबाही सिफारिस गरेकाहरुलाई जोगाएर राखेको थियो। अहिले प्रतिवेदन सार्वजनिक भए पनि कारबाही हुनेमा भने शंका उत्पन्न भएको चिकित्सा क्षेत्रका विज्ञहरु बताउँछन्।

चिकित्सा शिक्षाका क्षेत्रमा विभिन्न अनियमिता भएको, विशेष गरी सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा समस्या रहेको भन्दै डा गोविन्द केसीले पटक पटक अनसन बसेपछि सरकारले उच्चस्तरिय जाँचबुझ आयोग गठन गरेको थियो। डा केसीको अनसनका क्रममा स्वास्थ्यखबरले प्रतिवेदनमा रहेका विषयहरु समेटेर 'डा गोविन्द केसी अनसनको उपलब्धि ३ : जाँचबुझ आयोग गठन, चिकित्सा शिक्षा अनियमिततामा ४३ जना दोषी फेला' शिर्षकमा विस्तृतमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचारका विषय तल उल्लेख गरेका छौं।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन भएको थियो। ०७४ वैशाख ४ मा राजपत्रमा सूचना प्रकाशित गरी गठन भएको आयोगमा डा उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका सहसचिव सूर्य गौतम सदस्य थिए। आयोगले जेठ १६ बाट काम सुरु गरेको थियो। तर, समयमै काम सम्पन्न हुन नसकेपछि सरकारले आयोगको म्याद माघ १३ सम्म थप गरेको थियो। सोही अनुसार आयोगले माघ ११ मा काम सम्पन्न गरी गत वर्षको माघ २१ मा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।

उक्त आयोगका सदस्य डा देवकोटाको निधन भइसकेको छ। तर हिजो बुधबारसम्म पनि सरकारले उक्त प्रतिवेदन सार्वजनिक गरेको थिएन। क्यान्सरका कारण मृत्युसँग संघर्ष गरिरहेका समयमा डा देवकोटाले अस्पतालको शय्याबाट नै उक्त प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका थिए। तर सरकारले उक्त प्रतिवेदन नै लुकाएर राखेको थियो। प्रतिवेदन लुकाएर दोषीलाई उम्काउने खेल सुरु भएपछि स्वास्थ्यखबरले २०७४ चैत १३ गते 'चिकित्सा शिक्षा अनियमितता : प्रतिवेदन तुहाउने र ४३ जना दोषी उम्काउने खेल' शिर्षकमा समाचार प्रकाशित गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

अस्पतालको शय्या रहेको समयमा डा देवकोटाले आफूहरुले निकै मिहेनत गरेर प्रतिवेदन तयार पारेको र छानबिनका क्रममा दोषी देखिएकालाई उन्मुक्ति दिन नहुने बताएका थिए। स्वास्थ्यखबरले २०७५ वैशाखमा 'अस्पतालको शय्याबाट डा उपेन्द्र देवकोटाले भने - चिकित्सा शिक्षाका ४३ दोषीलाई कारबाही गर्नुपर्छ' शिर्षकमा समाचार प्रकाशित गरेको थियो।

चिकित्सा शिक्षाका अभियान्ता डा गोविन्द केसीसँग न्यूरो अस्पतालमा भएको भेटका क्रममा डा देवकोटाले दोषीलाई उन्मुक्ती दिन नहुने कुरामा जोड दिएका थिए। उनले आयोगले बुझाएको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याए चिकित्सा शिक्षामा धेरै सुधार आउने कुरामा समेत जोड दिएको तत्कालिन समयमा डा केसीले बताएका थिए।

‘आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने र आफूहरुले कारबाही सिफारिस गरेका कसैलाई पनि उन्मुक्ती दिन नहुने कुरा उहाँले बताउनु भएको छ,’ डा केसीले त्यो समयमा भनेका थिए, ‘उहाँले छलफलका क्रममा दोषीलाई उन्मुक्ति दिने काम भएका चिकित्सा शिक्षाका क्षेत्रमा झन् विकृती मौलाउने भन्दै चिन्ता समेत व्यक्त गर्नु भएको छ।’

जाँचबुझ ऐनअनुसार गठित आयोगको कानुनी हैसियत जनआन्दोलन २०६२/६३ मा भएको दमनको छानबिन गर्न गठित रायमाझी आयोगसरहकै हो । डा गोविन्द केसीले उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र प्रतिवेदनमा दोषी देखाइएका सबैलाई सिफारिस अनुसार कारबाही गर्न माग गर्दै पटक पटक अनसन नै बसेका थिए। सरकारले सहमति गर्ने तर कार्यान्वन भने गरेको थिएन।

आयोगले त्रिवि र केयूका उपकुलपतिदेखि पूर्व उपकुलपति तथा मेडिकल काउन्सिलका पूर्व अध्यक्ष, रजिस्ट्रारदेखि मेडिकल कलेजको अनुगमनका लागि खटिएका विज्ञ टोलीमा सहभागी ४३ जनालाई सरकारी सेवामा नियुक्त नगर्ने, पदबाट तुरुन्त हटाउनेदेखि भ्रष्टाचारमा मुद्दा अगाडि बढाउनेसम्मका कारबाही सिफारिस गरेको छ। 

आयोगले बुझाएको प्रतिवेदनमा मेडिकल शिक्षा क्षेत्रको अनियमतितामा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु नै अगुवाका रुपमा रहेको उल्लेख छ। गुणस्तरीय शिक्षाका लागि काम गर्नुपर्ने प्राज्ञिक र नियामक निकायका प्रमुख पदाधिकारी नै अनियमिततामा संलग्न रहेको भन्दै उनीहरुलाई तत्कालै पदबाट बर्खास्त गर्न आयोगले सिफारिस गरेको छ।

आयोगले उपकुलपति डा तीर्थ खनियाँ, रेक्टर सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेती  (तत्कालिन समयका)लाई पदअनुकूलको काम, कर्तव्य र आचरण नगरेको भन्दै तत्काल बर्खास्त गर्न र भविष्यमा सरकारी र अर्ध सरकारी लाभको पदमा नियुक्ति नगर्न सिफारिस गरेको हो।

काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन, सिट, भर्ना, परीक्षा, शुल्क लगायतका विषयमा अनियमतता गरेको भन्दै आयोगले त्रिविका १९ जना पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ। 

आयोगले त्रिविको कानुनका डिन तारा सापकोटालाई विश्वविद्यालयको कार्यकारी परिषद् सदस्य र डिनबाट समेत हटाउन सिफारिस गरेको छ। सापकोटाले सर्वोच्च अदालतको फैसलाको गलत व्याख्या गरी मेडिकल कलेजलाई सम्बन्धनको सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ। यस्तै, त्रिविको विज्ञान विभागका डिन रामप्रसाद खतिवडा, प्राध्यापक राजेन्द्र पौडेल र हरि पराजुलीलाई समेत कार्यकारी परिषद् सदस्यबाट हटाई कारबाही गर्न आयोगले सिफारिस गरेको छ।

यसैगरी, आयोगले त्रिविका पूर्व उपकुलपति हिराबहादुर महर्जनलाई पनि कारबाहीको दायरामा ल्याएको छ। महर्जनले आफ्नो कार्यकालमा विद्यापरिषद्को अधिकार खोसेको, विद्यापरिषद्को निर्णय र डिनको अनुरोधलाई उपेक्षा गरी पूर्वाग्रही निर्देशन दिई डा करवीरनाथ योगीको टोलीबाट काठमाडौं नेसनल मेडिकल कलेजको सम्भाव्यता अध्ययन गर्न पठाई इच्छानुकूल प्रतिवेदन पेश गर्न लगाएको, तत्कालीन कुलपति एवं प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा विज्ञहरुको बैठकले गरेको निर्णयलाई जानाजान उपेक्षा गरेको र गलत क्रियाकलाप गरी कानुनको उल्लंघन गर्ने काम गरेको भन्दै आयोगले भविष्यमा कुनै पनि सरकारी र संवैधानिक नियुक्ति नगर्न भनेको छ।

महर्जनको निर्देशनमा २०७० कात्तिक २४ मा डा योगी नेतृत्वको सात सदस्यीय टोली गठन भएको थियो। टोलीले काठमाडौं नेसनल मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरेर २७ कात्तिकमा प्रतिवेदन दिएको थियो। प्रतिवेदनमा ‘पर्याप्त फ्याकल्टी र बिरामी रहेको’ उल्लेख गरिएको थियो। तर, आयोगको प्रतिवेदनमा भने चार वर्षपछि पनि काठमाडौं नेसनलको अस्पतालमा बिरामी नभेटिएको, डाक्टर, नर्स तथा आवश्यक कर्मचारी नरहेको र योगी नेतृत्वको टोलीले झुटा विवरण दिएको उल्लेख छ। 

आयोगले योगीसहित टोलीमा रहेका सबैलाई कारबाही सिफारिस गरेको छ। टोलीमा डा ज्योति शर्मा, डा केशवप्रसाद सिंह, डा प्रमोदकुमार श्रेष्ठ, डा परशुराम मिश्र, डा रामप्रसाद उपे्रती र प्रह्लाद पन्त थिए। उनीहरुलाई विज्ञका रूपमा कानुन विपरीतको काम गरेको भन्दै आयोगले आगामी तीन वर्षसम्म सरकारी र अर्धसरकारी नियुक्तिमा रोक लगाउन सिफारिस गरेको छ।

आयोगले २०६९ साउन २४ मा मेडिकल काउन्सिलबाट काठमाडौंको नेसनलको प्रारम्भिक निरीक्षण गर्ने पदाधिकारीहरू डा अनिलकुमार झा, डा शशि शर्मा र डा सरोज श्रेष्ठलाई पनि कारबाही गर्न भनेको छ। उनीहरुले काउन्सिल नियमावलीको निरीक्षण ढाँचा पूर्णरूपमा पालना नगरेको आयोगको ठहर छ। ‘विज्ञका रूपमा गलत प्रतिवेदन दिएको देखिन्छ। उनीहरू सबैलाई चिकित्सा पेशा सम्बन्धी काम गर्न रोक लगाउनुपर्ने अवस्था नभए पनि सरकारी र अर्धसरकारी निकायको नियुक्तिमा दुई वर्षका लागि रोक लगाउनू,’ प्रतिवेदनमा भनिएको छ।

त्यस्तै, त्रिविका कानुनी सल्लाहकार अधिवक्ता नारायणप्रसाद खनाललाई सल्लाहकारबाट तुरुन्त हटाउन र सरकारी तथा अर्धसरकारी निकायमा भविष्यमा कानुनी सल्लाहकार र कुनै पदमा नियुक्त नगर्न सिफारिस गरिएको छ। 

काउन्सिलका पूर्वरजिस्ट्रार उपाध्यायको हर्कत
आयोगले नेपाल मेडिकल काउन्सिलका पूर्वरजिस्ट्रार डा नीलमणि उपाध्यायले मेडिकल शिक्षाको क्षेत्रमा अनियमितता भित्र्याउन मुख्य भूमिका निर्वाह गरेको भन्दै कारबाहीको सिफारिस गरेको छ।

काउन्सिलको रजिस्ट्रारका रुपमा दुई कार्यकाल काम गर्दा डा उपाध्यायले कानुनभन्दा बाहिर गएर अनियमितता गरेको आयोगको दाबी छ। प्रतिवेदन अनुसार उनले काउन्सिल जस्तो स्वतन्त्र कानुनी निकायलाई सञ्चालन गर्दा गलत मार्गतिर लैजाने काममा मुख्य भूमिका निर्वाह गरेका छन्। डा उपाध्यायले मेडिकल कलेजको अनुगमनका क्रममा समेत अनियमिता गरेको प्रतिवेदनमा उल्लेख छ।

‘डा नीलमणि उपाध्यायले रजिस्ट्रार पदमा मिति २०६४/७/१३ देखि २०७२/७/११ सम्म दुई कार्यअवधि काम गर्नु भएको देखिन्छ। यस अवधिमा कानुनभन्दा बाहिर गएर काउन्सिल जस्तो स्वतन्त्र कानुनी निकायलाई सञ्चालन गर्दा गलत मार्गतिर लैजाने काममा मुख्य भूमिका डा नीलमणि उपाध्यायकै देखिन आयो,’ प्रतिवेदनमा भनिएको छ।

आयोगले डा उपाध्यायले रजिस्ट्रारका रुपमा काम थालेदेखि नै गलत क्रियाकलापमा संलग्न हुँदै आएको ठहर गर्दै भ्रष्टाचारमा अनुसन्धान गरी कारबाही गर्न र कुनै पनि सरकारी तथा अर्धसरकारी निकायमा भविष्यमा लाभको पदमा नियुक्ति गर्न अयोग्य देखिएकाले नियुक्ति नगर्न सिफारिस गरेको छ।

डा उपाध्यायले आफ्नो कार्यकालमा अख्तियारको मान्छे भन्दै काउन्सिलका अन्य पदाधिकारीलाई डर, त्रास र धम्की दिने गरेको समेत आयोगको प्रतिवेदनमा उल्लेख छ। ‘अख्तियारको निर्देशन छ भन्दै काउन्सिलका रजिस्ट्रार डा नीलमणिले निर्णय गराउने गरेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘डा नीलमणिको उक्त काममा काउन्सिलका तत्कालीन अध्यक्ष डा दामोदर गजुरेलले समेत साथ दिएको देखिन्छ।’

डा उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विज्ञका रुपमा अख्तियारमा काममा लगाएका थिए। सो क्रममा कार्कीसहित डा उपाध्याय मिलेर मेडिकल शिक्षामा थप विसंगति र विकृति भित्र्याएका छन्। आयोगले कार्कीलाई पनि दोषी ठहर गरी कारबाहीको लागि सिफारिस गरेको छ।

डा उपाध्यायले पदीय दुरुपयोग गरी पत्नी डा सरिता उपाध्यायलाई गण्डकी मेडिकल कलेजमा जागिर दिलाएको पनि प्रतिवेदनमा उल्लेख छ। ‘उहाँकी पत्नी डा सरिता उपाध्यायलाई मेडिकल काउन्सिलका रजिस्ट्रारको नाताले सरकारी पद र ओहोदाको दबाब दिई गण्डकी मेडिकल कलेज, पोखरामा नियुक्ति गरी काम नै नगराई तलबभत्ता खुवाएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार पदमा रहेको समयमा श्रीमती डा सरिता उपाध्यायलाई गण्डकी मेडिकल कलेजको मेनेजर पदमा नियुक्ति दिलाई काठमाडौं अफिसमा काम गर्ने भनेर काम नै नगरी महिनाको २५ हजार तलब खुवाउने गरेको देखिन आयो।’

उपाध्यायले एकै समयमा दुई स्थानमा जागिर खाँदै सेवा सुविधासमेत लिएको प्रमाणित भएको छ। रजिस्ट्रार पदको दुरुपयोग गरी उनले पूर्णकालीन रुपमा सैनिक कलेजमा प्राध्यापक पदमा करारमा नियुक्त भई तलबभत्ता खान थालेपछि पनि काउन्सिलबाट समेत तलब भत्ता बुझेको प्रतिवेदनले उल्लेख गरेको छ।

आयोगले एकै समयमा दुई संस्थाबाट तलब खाएको पुष्टि भएको भन्दै उनलाई भ्रष्टाचारमा अनुसन्धान गरी कारबाही गर्नुपर्ने सुझाव दिएको छ। नियामक निकायमा बसेका पदाधिकारी मेडिकल कलेजमा संलग्न हुन नपाउने भए पनि उनले सेनाको मेडिकल कलेजमा काम गर्दै विद्यार्थी कोटा बढाउनेसम्मको अनियमितता गरेका छन्।

डा उपाध्यायले सेनाको मेडिकल कलेजलाई मापदण्ड र पूर्वाधार नै नपुगेको अवस्थामा आर्थिक वर्ष २०७२/७३ मा दोब्बरभन्दा बढी सिट बढाइदिएका थिए। ४ सय ९१ मात्रै बेड संख्या रहेको सेनाको मेडिकल कलेजले ८२ सिट मात्र पाउनुपर्नेमा उनले १ सय ३० सिट दिलाएका थिए।

पूर्वाधार नै नपुगेको विराट र देवदहलाई सम्बन्धन 
आयोगले पूर्वाधार नै नपुगेको विराट र देवदहलाई मेडिकल कलेजको सम्बन्धन दिलाउनेहरुलाई पनि कारबाहीको सिफारिस गरेको छ। ‘यी दुवै मेडिकल कलेजमा हालसम्म पनि आवश्यक पूर्वाधार र फ्याकल्टी पुगेको छैन। सम्बन्धनका लागि निरीक्षण गरी पूर्वाधार पुगेको भनी सम्बन्धन दिन सकिने रायसहितको प्रतिवेदन दिने सबै पदाधिकारीलाई आगामी ५ वर्षसम्म सरकारी र अर्धसरकारी निकायका पदमा नियुक्ति नगर्नू’ प्रतिवेदनमा भनिएको छ। 

प्रतिवेदनका अनुसार, देवदह मेडिकल कलेजको एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता निरीक्षण गर्नेमा डा सिडी चावला र प्रा श्यामसुन्दर मल्लले कलेज सञ्चालन गर्न मिल्ने सिफारिस गरेका थिए। सम्भाव्यता निरीक्षण टोलीपछि २०७१ साउन ११ को पत्र अनुसार निरीक्षण गरेको टोलीले पनि कलेज चलाउन मिल्ने प्रतिवेदन दिएको थियो। उक्त टोलीमा प्राडा पन्ना थापा, प्राडा रमेशप्रसाद सिंह, डा जगदीश चटौत र प्रद्युम्न श्रेष्ठ थिए। 

यसैगरी, विराट मेडिकल कलेल एन्ड टिचिङ अस्पतालको निरीक्षण गरी प्रतिवेदन पेश गर्न खटाइएका निरीक्षण दलका सदस्यहरू डा रमेशकुमार अधिकारी, डा रोहित श्रेष्ठ, डा सिडी चावला र डा ओजस्वी नेपाल छन्। उनीहरुले पूर्वाधार नै नपुगेको कलेजलाई ७५ जना विद्यार्थीलाई भर्ना गर्नेगरी अनुमति दिन सिफारिस गरेका थिए।

आयोगले गुणस्तरीय चिकित्सा शिक्षाका लागि विशेष ध्यान दिई सक्षम, सवल र दक्ष जनशक्ति उत्पादनमा जोड दिन सक्रिय रहनुपर्नेमा केयूका उपकुलपति डा रामकण्ठ माकाजूले भौतिक पूर्वाधार, फ्याकल्टी लगायतका पक्षमा ख्याल नगरी नियमावली नै संशोधन गरी सम्बन्धन दिने नियतले विस्तारित कार्यक्रमका नाममा सञ्चालन अनुमति दिएको भन्दै उनलाई पनि कारबाही गर्न सिफारिस गरेको छ। 

‘सक्षम र प्रभावकारी प्रशासनिक नेतृत्वका हैसियतले जिम्मेवारी र उत्तरदायित्व वहन गर्नुपर्नेमा सो गर्नमा उदासीन भएकाले उपकुलपति डा रामकण्ठ माकाजूलाई प्रचलित कानुन बमोजिम सचेत गराउने,’ प्रतिवेदनमा भनिएको छ।

लोकमानको दबावमा केयूको परीक्षामा ‘सेटिङ’
आयोगले काठमाडौं विश्वविद्यालय (केयू) ले विशेषज्ञ डाक्टर अध्ययनका लागि लिएको पोस्ट ग्राजुएट (पिजी) प्रवेश परीक्षामा अनियमितता भएको निष्कर्ष निकालेको छ। आयोगले गरेको छानबिनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको दबावमा केयूका उपकुलपति डा रामकण्ठ मकाजूसहितको मिलेमतोमा अनियमितता भएको भेटिएको हो।

केयूले २०७३ जेठ १५ मा पिजीको प्रवेश परीक्षा लिएको थियो। परीक्षाका सम्पूर्ण प्रश्नपत्र लोकमानसिं कार्कीले विज्ञका रुपमा पठाएको समूहले बनाएको र नतिजा पनि उनीहरुले नै पठाएको जाँचबुझ आयोगले फेला पारेको छ। आयोगले परीक्षामा संवैधानिक निकायका प्रमुख आयुक्त कार्कीले प्राज्ञिक निकायमा हस्तक्षेप गरेको र उक्त कार्यमा केयूका उपकुलपति डा माकाजूले सहमति दिएको भन्दै कारबाहीको सिफारिस गरेको हो। 

‘संवैधानिक आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले काठमाडौं विश्वविद्यालयको पिजी प्रवेश परीक्षामा परीक्षा सञ्चालन हुनु २ दिनअघि नै प्रश्नपत्र बाहिरिएको ठोस प्रमाणबिना मौखिक निर्देशनमा आफ्नो अनुकूलका विज्ञ खटाई प्रवेश परीक्षा सम्बन्धी कार्य गरी विश्वविद्यालय जस्तो स्वायत्त संस्थामा हस्तक्षेप गरी विवादित कार्य गरेको देखिन आयो,’ प्रतिवेदनमा भनिएको छ।

आयोगले पदीय मर्यादालाई समेत ख्याल नगरी गलत कार्य गरेको ठहर गर्दै कार्कीलाई भविष्यमा कुनै सरकारी र संवैधानिक नियुक्ति नगर्न सुझाव दिएको छ। यस्तै, केयूका उपकुलपति डा माकाजूलाई विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रतामा ख्याल राख्न भन्दै सचेत गराउन सरकारलाई सुझाव दिइएको छ। 

केयूको परीक्षामा अख्तियारको हस्तक्षेप भएको विषय सञ्चार माध्यमबाट बाहिरिएपछि कार्कीले आफ्ना भाइ तथा ग्वार्कोस्थित किष्ट मेडिकल कलेजका सञ्चालक डा बालमानसिंह कार्की र चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजका सञ्चालक नटराज प्रसाद मार्फत केयूका उपकुलपतिसहित पदाधिकारीलाई मनाएका थिए। उनीहरुले उपकुलपति माकाजू, डीन र रजिस्ट्रारसँग पटक–पटक सल्लाह गरेपछि आवश्यक कागजपत्र मिलाएका थिए। कागजपत्रमा केयूको परीक्षा अख्तियारले नभई विश्वविद्यालय आफैंले सञ्चालन गरेको भनी मिलाइएको थियो।

प्रतिवेदन अनुसार केयूको उक्त प्रवेश परीक्षामा अख्तियारमा कार्यरत पदाधिकारी, अख्तियारले बनाएको विज्ञ टोली र विश्वविद्यालयका पदाधिकारीका छोराछोरीले समेत आवेदन फाराम भरेका थिए। परीक्षालाई आफू अनुकूल बनाउन केयूले पहिले बनाएको प्रश्नपत्र परीक्षा हुनुअघि नै बाहिरिएको भन्दै अख्तियारले छुट्टै टोलीलाई परीक्षा लिन पठाएको थियो। केयूले २०७३ जेठ १५ मा प्रवेश परीक्षाको तयारी गरिरहेको अवस्थामा दुई दिनअघि नै अख्तियारको टोली पुगेर परीक्षामा हस्तक्षेप गरी आफैं प्रश्नपत्र बनाएको थियो। प्रश्नपत्र निर्माण मात्र नभई नतिजा पनि अख्तियारकै टोलीको संलग्नतामा निकालिएको थियो। 

‘सो परीक्षामा प्रश्नपत्र लिक भयो भनेर अख्तियारको टोली गएर उक्त मितिमा परीक्षा सञ्चालन गरिएको देखिन आयो,’ प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार अख्तियारले त्यसबेला नेपाल मेडिकल काउन्सिलका सदस्य डा सुप्रभात श्रेष्ठको नेतृत्वमा अख्तियारकै गाडीमा ८ जनालाई जेठ १३ मा केयू पठाएको थियो। 

‘अख्तियारले व्यवस्था गरेको गाडीमा गई प्रश्नपत्र नै अख्तियारका विज्ञबाट बनाएर परीक्षा गराउने पूर्वयोजना अनुसार नै काठमाडौं विश्वविद्यालयमा १३ गते बिहान १० बजे नै डा श्रेष्ठसहित अन्य ७ जना विज्ञलाई लिएर गएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अख्तियारको टोलीमा अख्तियारका शिक्षा हेर्ने सहसचिव, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा अपराध अनुसन्धान महाशाखाका प्रहरी अधिकारीहरू र विशेषज्ञको टोली थियो।’ आयोगको प्रतिवेदन अनुसार उनीहरु कुनै आधिकारिक पत्रबिना नै लोकमानको मौखिक आदेशको भरमा केयू पुगेका थिए। उनीहरुले केयूले तयार पारेको प्रश्नपत्र लिक भएको आरोप कुनै तथ्यबिना नै लगाएका थिए।’ 

‘परीक्षा नै सञ्चालन हुन नपाई तथा विश्वविद्यालयले प्रश्न नै छनोट गरी नसकी २०७३ जेठ १३ मा प्रश्नपत्र चुहावट भयो भनी बिनाप्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो सम्मानित संस्थाको नाममा टोली खटिनु कानुनी र व्यावहारिक पक्षले हेर्दा सान्दर्भिक देखिएन’, प्रतिवेदनमा भनिएको छ, ‘प्रश्नपत्र चुहावटका लागि परीक्षा सञ्चालन भएको वा सञ्चालन हुन लागेको अवस्थामा तयारी अवस्थामा राखिएको प्रश्नपत्र र चुहावट भएको प्रश्न तुलना गरी हुबहू मिलेमा मात्र चुहावट भएको भन्न सकिने हुन्छ। यस सन्दर्भमा यदि प्रश्नपत्र चुहावट भएको भए त्यस्तो कार्य गर्ने व्यक्ति वा पदाधिकारीमाथि अनुसन्धान तहकिकात भई बुझ्ने र कानुनी कारबाही गर्नुपर्नेमा अख्तियारले सो कार्य गरेको भने पाइएन।’

अख्तियारले आफू अनुकूलको प्रश्नपत्र बनाउँदै परीक्षाफल प्रकाशित गर्न छानबिनका लागि केयूमा पठाएको टोलीमा नेपाल मेडिकल काउन्सिलका शिक्षा समिति संयोजक डा सुप्रभात श्रेष्ठ, डा शशि शर्मा, डा सुबोध अधिकारी, पूर्व रजिस्ट्रार डा नीलमणि उपाध्याय, प्रहरी अस्पतालका डा सरोज श्रेष्ठ, किष्ट अस्पतालका डा ऋषिकेश नारायण श्रेष्ठ र केयू परीक्षा नियन्त्रण कार्यालयका राजन क्षत्री लगायतका सदस्य सहभागी थिए। जाँचबुझ आयोगले उनीहरुलाई लोकमानले डर, त्रास र दबावमा पठाएको भन्दै कुनै कारबाही गर्नु नपर्ने सिफारिस गरेको छ।

फेल भएका विद्यार्थीलाई ‘स्पोन्सर सिट’ 
धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २०१६ को एमडी÷एमएस कार्यक्रममा भनसुनका भरमा तीन जना डाक्टरलाई प्रक्रिया नै पूरा नगरी स्पोन्सर सिट (निःशुल्क) मा अध्ययन गर्न दिइएको पनि आयोगको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार छात्रवृत्तिको उक्त सिटमा ४० नम्बर ल्याएका र मेरिटमा निकै पछाडि रहेका विद्यार्थीलाई प्रक्रिया मिचेर भर्ना गरिएको छ। 

एमडी/एमस अध्ययनका लागि प्रवेश परीक्षामा अनिवार्य ५० नम्बर ल्याउनुपर्ने हुन्छ। त्यो भन्दा कम ल्याएमा अयोग्य मानिनेछ। यसका साथै प्रवेश परीक्षामा योग्यताक्रम अनुसार सबैभन्दा अगाडि रहेका विद्यार्थीले मात्र अध्ययनको अवसर पाउँछन्। तर, प्रतिष्ठानमा तीन जना विद्यार्थीलाई सबै प्रक्रिया मिचेर अध्ययनको अवसर दिइएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार डा प्रज्ज्वलसिंह कुँवर, डा आरती आनन्द र डा मनिषा पनेरुलाई भनसुनकै भरमा स्पोनसर सिट उपलब्ध गराइएको हो। डा प्रज्ज्वलसिंह कुँवर र डा आरती आनन्दलाई भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा चीनबहादुर पुनले स्पोन्सर सिटका लागि सिफारिस गरेका थिए। यस्तै, डा मनिषा पनेरुलाई भक्तपुर क्यान्सर अस्पतालका तत्कालिन प्रमुख डा प्रकाशराज न्यौपानेले सिफारिस गरेका थिए।

‘डा न्यौपानले आफूकहाँ वा कतै पनि काम नगरेकी, छात्रवृत्ति सम्बन्धी कार्यविधिको विपरीत र प्रवेश परीक्षाको नतिजामा योग्यताक्रममा निकै तल ३६१ मा परेकी मनिषा पनेरुलाई सिफारिस गरेको देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनका तत्कालीन कार्यकारी निर्देशक डा सिबी पुन (चीनबहादुर पुन) ले पनि योग्यताक्रममा ७०९ स्थानमा रहेका डा प्रज्ज्वलसिंह कुँवर र ६६७ स्थानमा रहेकी डा आरती आनन्दलाई कानुन विपरीत सिफारिस गरेको देखियो। 

आयोगले कानुन मिचेर सिफारिस गरी योग्य उम्मेदवारलाई अध्ययनको मौकाबाट वञ्चित गरेकाले उनीहरुलाई भविष्यमा सरकारी र अर्धसरकारी पदमा नियुक्ति गर्न प्रतिबन्ध लगाउन सिफारिस गरेको छ।

यस्तै, प्रतिष्ठानका तत्कालीन उपकुलपति डा बिपी दास (बलभद्र दास) ले स्पोन्सर सिटमा यी तीन जनालाई छात्रवृत्ति परिचालन कार्यविधि, २०७२ विपरीत भर्ना गरेको देखिएको छ। प्रतिष्ठानले सार्वजनिक सूचना प्रकाशन नगरी एकै पटक भर्ना गरेको, प्रवेश परीक्षा नतिजाको योग्यताव्रmम सूचीलाई आधार नबनाएको, भर्ना गर्नका लागि कबुलियतनामा स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयमा पठाइएको सूची र प्रकाशन गरिएको सूचनामा यी उम्मेदवारको नाम नरहेको प्रतिवेदनमा उल्लेख छ। यी तीन विद्यार्थी भर्ना सम्बन्धमा डा दासले प्रतिष्ठानको परीक्षा समिति, कार्यकारी समिति एवं कुनै पनि समितिबाट निर्णय नगरेको लगायत गलत काम गरेको आयोगको ठहर छ। 

‘प्रवेश परीक्षामा कम्तिमा ५० प्रतिशत अंक ल्याउनुपर्ने भन्ने नेपाल मेडिकल काउन्सिलको मापदण्डलाई पालना नगरी ४० प्रतिशत अंक ल्याउनेलाई भर्ना गरेर यी आधारलाई उपकुलपति जस्तो जिम्मेवार पदाधिकारीले स्पोन्सर सिफारिस आएको भन्ने निहुँमा ठाडै तोक लगाएको भरमा चलखेल गरी अन्य कुनै प्रक्रिया पूरा नगरी मेरिट लिस्टमा रहेका प्रतिभाशाली विद्यार्थीको हक छिन्ने र अप्रत्यक्ष रुपमा चलखेल गरी अनियमित तवरले भर्ना गरेको देखियो,’ प्रतिवेदनमा उल्लेख छ।

आयोगले जानाजानी कानुन विपरीत काम गरेकाले डा बिपी दासलाई भविष्यमा कुनै पनि सरकारी र अर्धसरकारी नियुक्ति वा मनोनयनमा बन्देज लगाउन सरकारलाई सिफारिस गरेको छ। 

‘सेटिङ’मा सम्बन्धन
भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा अनुगमन गर्न काउन्सिलबाट २०६५ जेठ २३ र २४ मा गएको डा एनबी राना, डा शशि शर्मा र डा नीलमणि उपाध्यायको टोलीले ७ सय ८८ शय्या रहेको भन्दै १ सय ५० विद्यार्थी पढाउन अनुमति दिन सिफारिस गर्यो । प्रतिवेदनका आधारमा सो कलेजले १ सय ५० विद्यार्थी पढाउन अनुमति पायो। चार वर्षपछि पुस १२ मा निरीक्षणका लागि डा विमल सिन्हा नेतृत्वको टोली सो कलेजको अस्पताल पुग्दा ३ सय ५० शय्यामात्र रहेको पायो। 

‘नेपाल मेडिकल काउन्सिलले १ सय ५० सिट स्वीकृत गरेकामा डमी फ्याकल्टी राखेको, फ्याकल्टी प्रमाणित नभएको लगायतका त्रुटि देखिएकामा सन् २००७ देखि नै १ सय ५० सिट निर्धारण गरी मेडिकल कलेजको बदमासीलाई सिट निर्धारणमा आँखा चिम्लने गरेको देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘१२ वर्ष अगाडि नै निरीक्षणमा तथ्य लुकाउने र सोही प्रतिवेदनलाई काउन्सिलले पनि आँखा चिम्लेर समर्थन गर्ने गरेको देखिन आयो। मेडिकल शिक्षा पढाउने भनेको विकृति विसंगतिलाई अँगालेर सिट बढाइदिने, ठिक रुपमा अनुगमन नगर्ने परिपाटी पहिलेदेखि नै चलाइँदै आएको देखियो।’ आयोगले सिट निर्धारणमा डा नीलमणि उपाध्याय, डा शशी शर्मा र डा नरेन्द्र राणाले चालखेल गरेको र जथाभावी रुपमा झुटो विवरण दिएको भन्दै कारबाही सिफारिस गरेको छ।

यस्तै, विराटनगरस्थित नोबल मेडिकल कलेज शिक्षण अस्पतालमा ०६९ असार ७ र ८ मा नेपाल मेडिकल काउन्सिलको टोलीले अनुगमन गरेको थियो। टोलीले अस्पतालमा ९ सय बेड भएको प्रतिवेदन बुझाउँदै १ सय ५० विद्यार्थी पढाउन अनुमति दिन सिफारिस गर्यो्। सोही वर्षको माघ १९ मा डा विमलकुमार सिन्हा संयोजकत्वको टोली अनुगमनमा पुग्दा अस्पतालमा जम्मा ४ सय ५० शय्यामात्रै भेटिएको प्रतिवेदनमा उल्लेख छ।

‘मेडिकल कलेजमा २०६७ आषाढ ५ देखि ७ सम्म डा नीलमणि उपाध्यायको नेतृत्वमा निरीक्षण गरिएकामा चालु बेड ४ सय २०, निर्माणधीन ६ सय ३०, जनवरी २०११ मा तयार हुने १ सय ५ र अगस्ट २०१२ मा ५ सय २५ भनी पछि तयार हुने बेड समेतको आधारमा त्रुटिपूर्ण तरिकाले मापदण्ड पुगेको भनी सन् २०१० मै १ सय ५० सिट एमबिबिएस पढाउन सिफारिस गर्नु भएको र सोही बमोजिम काउन्सिलको फूल हाउसबाट समेत सिट निर्धारण गरी निर्णय गरकोमा अहिले सन् २०१७ अर्थात् २०७४ सालमा ९० विद्यार्थी मात्र पढाउने क्षमता देखिएकाले उहाँहरुले ७ वर्ष अगाडिदेखि नै १ सय ५० सिट पढाउन गरेको सिफारिस र काउन्सिलको निर्णय गलत रुपमा गरिएको रहेछ भन्ने देखिन आयो,’ प्रतिवेदनमा भनिएको छ।

यसैगरी, आयोगले जानकी, विराट र देवदह मेडिकल कलेजले हालसम्म पनि मापदण्ड र पूर्वाधार पूरा नगरेको फेला पारेको छ। आयोगले झुटो विवरणका आधारमा सम्बन्धन दिने सबैलाई कारबाहीको सिफारिस गरेको छ।

जानकी मेडिकल कलेजलाई सम्बन्धन दिने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेश गर्न सात सदस्यीय टोलीमा प्रा भरत झा, डा गोविन्दप्रसाद शर्मा, डा त्रिलोकपति थापा, डा केबी राउत, डा मनोहरप्रसाद गुप्ता, चन्द्रलाल श्रेष्ठ र हिरेन्द्रमान अमात्य थिए। 

आयोगले पूर्वाधार, फ्याकल्टी र स्वास्थ्य सेवा पुगेको भनी सिफारिस गर्ने सबैलाई आगामी पाँच वर्षसम्म सरकारी र अर्धसरकारी निकायका पदमा नियुक्ति नगर्न भनेको छ।

यी हुन् आयोगले दोषी देखाएका ४३ जना
तत्काल बर्खास्त गर्ने र भविष्यमा सरकारी/अर्ध सरकारी लाभको पदमा नियुक्ति नगर्न आयोगले सिफारिस गरेकाहरु:

१. तीर्थराज खनियाँ, उपकूलपति– त्रिभुवन विश्वविद्यालय
अस्पताल सञ्चालनका लागि स्वीकृतिसमेत नपाएको काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन मुख्य भूमिका खेलेको । अति जिम्मेवार पदाधिकारीले पदअनुकूलको काम, कर्तव्य र आचरण नगरेको ।

२. सुधा त्रिपाठी, रेक्टर– त्रिभुवन विश्वविद्यालय
अस्पताल सञ्चालनका लागि स्वीकृतिसमेत नपाएको काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन मुख्य भूमिका खेलेको ।

अति जिम्मेवार पदाधिकारीले पदअनुकूलको काम, कर्तव्य र आचरण नगरेको ।

३. डिल्ली उप्रेती, रजिष्ट्रार– त्रिभुवन विश्वविद्यालय

अस्पताल सञ्चालनका लागि स्वीकृतिसमेत नपाएको काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन मुख्य भूमिका खेलेको ।
अति जिम्मेवार पदाधिकारीले पदअनुकूलको काम, कर्तव्य र आचरण नगरेको ।

४. अधिवक्ता नारायण खनाल– कानूनी सल्लाहकार, त्रिभुवन विश्वविद्यालय

कानून विपरीत सम्बन्धन दिलाउने कार्यमा सवै पदाधिकारीलाई गलत राय दिएको ।

भविष्यमा कुनै पनि सरकारी र संवैधानिक नियुक्ति पाउन अयोग्य

५. लोकमानसिंह कार्की, पूर्व प्रमुख आयुक्त–अख्तियार दूरुपयोग अनुसन्धान आयोग

आफ्नो संवैधानिक पदको दूरुपयोग गरी केयूमा सञ्चालित परीक्षमा हस्तक्षेप गरेको ।

६. हिराबहादुर महर्जन, पूर्व उपकूलपति– त्रिभुवन विश्वविद्यालय

आफ्नो कार्यकालमा विद्यापरिषद्को अधिकार खोसेको । विद्यापरिषद्को निर्णय र डीनको अनुरोधलाई उपेक्षा गरी पूर्वाग्रही निर्देशन दिई डा.करबीरनाथ योगीको टोलीबाट काठमाडौं नेशनल मेडिकल  कलेजको सम्भाव्यता अध्ययन गर्न पठाई इच्छानुकूल प्रतिवेदन पेश गर्न लगाएको । तत्कालीन कुलपति एवं प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा विज्ञहरुको बैठकले गरेको निर्णयलाई जानाजान उपेक्षा गरेको । गलत क्रियाकलाप गरी कानूनको उलंघन गर्ने काम गरेको ।

७. डा निलमणि उपाध्याय, पूर्व रजिष्ट्रार–मेडिकल काउन्सिल

मेडिकल काउन्सिललाई कानून भन्दा बाहिर गएर गलत मार्गतिर लैजाने काममा मुख्य भूमिका खेलेको निर्णय प्रमाणित नगराई कार्यान्वयन गरेको । मेडिकल कलेजको सिट निर्धारणमा मापदण्ड कुल्चेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप गराएको । अन्य सदस्यलाई अख्तियारको नाममा त्रसित बनाइ दबाब दिएर निर्णय गराएको ।
मेडिकल कलेजको निरीक्षणमा मापदण्ड विपरित  काम गरेको । एकै समयमा दुई संस्थाबाट तलब खाएको ।

कारवाहीः भ्रष्टाचारमा अनुसन्धान तहकिकात गरी कारबाही । पेशागत चिकित्सासम्बन्धी कामबाहेक कुनै पनि सरकारी र अर्ध सरकारी निकायमा  भविष्यमा लाभको पदमा नियुक्ति पाउन अयोग्य ।

सरकारी र अर्धसरकारी पदमा नियुक्त हुन अयोग्य :

८. डा.प्रकाशराज न्यौपाने, पूर्व प्रमुख–भक्तपुर क्यान्सर अस्पताल

आफ्नो अस्पताल वा अन्यत्र कतै काम नगर्ने डाक्टरहरुलाई छात्रवृत्तिसम्बन्धी कार्यविधिको विपरित हुने गरी कानून मिचेर सिफारिस गरी  योग्य उमेद्वारलाई अध्ययन मौकाबाट बन्चित गरेको ।

९. डा चीनबहादुर (सीबी) पुन, पूर्व कार्यकारी निर्देशक– वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर

आफ्नो अस्पताल वा अन्यत्र कतै काम नगर्ने डाक्टरहरुलाई छात्रवृत्तिसम्बन्धी कार्यविधिको विपरित हुने गरी कानून मिचेर सिफारिस गरी  योग्य उमेद्वारलाई अध्ययन मौकाबाट बन्चित गरेको ।

१०. डा.बीपी दास (बलभद्र दास), पूर्व उपकूलपति–वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

आरोपः स्पोन्सर सिफारिश आएको भन्ने निहुँमा अन्य प्रकृया पूरा नगरी मेरिट लिष्टमा रहेका प्रतिभाशाली विद्यार्थीहरुको हक छिन्ने र अप्रत्यक्षरुपमा चलखेल गरी अनियमित तवरले अयोग्य विद्यार्थीलाई भर्ना गरेर जानाजानी कानून विपरीत काम गरेको । 

पाँच वर्षसम्म सरकारी र अर्धसरकारी नियुक्तिमा रोक लगाउन सिफारिस गरिएकाहरु:

११. डा. दामोदरप्रसाद गजुरेल, पूर्व अध्यक्ष– नेपाल मेडिकल काउन्सिल

मेडिकल काउन्सिललाई कानून भन्दा बाहिर गएर गलत मार्गतिर लैजाने काममा मुख्य भूमिका खेलेको । 
निर्णय प्रमाणित नगराई कार्यान्वयन गरेको ।

१२. प्रा. भरत झा

मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको । 

१३. प्रा.डा. गोविन्दप्रसाद शर्मा

मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।

१४. प्रा.डा. त्रिलोकपति थापा

 मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।

१५. प्रा.डा. के बी. राउत

मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।

१६. डा. मनोहरप्रसाद गुप्ता

मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।

१७. चन्द्रलाल श्रेष्ठ

मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।

१८. हिरेन्द्रमान अमात्य

मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।

१९. डा. सि.डी. चावला

केयूको पत्रअनुसार मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्ना गर्न स्वीकृति दिने गलत सिफारिस गरेको । 

२०. प्रा. श्यामसुन्दर मल्ल

केयूको पत्रअनुसार मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्ना गर्न स्वीकृति दिने गलत सिफारिस गरेको ।

२१. प्रा.डा. पन्ना थापा

मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई एमबीबीएस कार्यक्रम शुरु गर्न पूर्वाधार पुगेको भनी सिफारिस गरेको ।

२२. प्रा.डा. रमेशप्रसाद सिंह

मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई एमबीबीएस कार्यक्रम शुरु गर्न पूर्वाधार पुगेको भनी सिफारिस गरेको ।

२३. डा. जगदीश चटौत

मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई एमबीबीएस कार्यक्रम शुरु गर्न पूर्वाधार पुगेको भनी सिफारिस गरेको ।

२४‍. प्रद्युम्न श्रेष्ठ

मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई एमबीबीएस कार्यक्रम शुरु गर्न पूर्वाधार पुगेको भनी सिफारिस गरेको ।

२५. डा. रमेश कुमार अधिकारी

मापदण्ड नपुगेको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा बढीमा ७५ जना विद्यार्थी अध्यापन गराउन सक्ने गलत प्रतिवेदन दिएको ।

२६. डा. रोहित श्रेष्ठ

मापदण्ड नपुगेको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा बढीमा ७५ जना विद्यार्थी अध्यापन गराउन सक्ने गलत प्रतिवेदन दिएको ।

२७. डा. ओजस्वी नेपाल

मापदण्ड नपुगेको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा बढीमा ७५ जना विद्यार्थी अध्यापन गराउन सक्ने गलत प्रतिवेदन दिएको ।

तीन वर्षसम्म सरकारी र अर्धसरकारी नियुक्तिमा रोक लगाउन कार्वाही सिफारिस गरिएकाहरु:

२८. प्रा. डा. करवीरनाथ योगी

काठमाडौं नेशनल मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरी गलत प्रतिवेदन दिएको । विज्ञको रुपमा कानून विपरित काम गरेको

२९. प्रा. डा. ज्योति शर्मा

विज्ञको रुपमा कानून विपरित काम गरेको

३०. प्रा. डा.केशवप्रसाद सिंह

विज्ञको रुपमा कानून विपरित काम गरेको

३१. प्रा.डा.प्रमोदकुमार श्रेष्ठ

विज्ञको रुपमा कानून विपरित काम गरेको

३२. प्रा. डा.परशुराम मिश्र

विज्ञको रुपमा कानून विपरित काम गरेको

३३. प्रा. डा.रामप्रसाद उप्रेती

विज्ञको रुपमा कानून विपरित काम गरेको

दुई वर्षसम्म सरकारी र अर्धसरकारी निकायको नियुक्तिमा रोकको कारवाही सिफारिस गरिएकाहरु:

३४. प्रल्हाद पन्त, त्रिवि

विज्ञको रुपमा कानून विपरित काम गरेको

३५. डा. अनिल झा
मेडिकल काउन्सिलबाट प्रारम्भिक निरीक्षण गर्दा मेडिकल काउन्सिल नियमावलीको निरिक्षण ढाँचा पूर्णरुपमा पालना नगरेको । विज्ञको रुपमा गलत प्रतिवेदन दिएको ।

३६. डा. शशी शर्मा
मेडिकल काउन्सिलबाट प्रारम्भिक निरिक्षण गर्दा मेडिकल काउन्सिल नियमावलीको निरिक्षण ढाँचा पूर्णरुपमा पालना नगरेको । विज्ञको रुपमा गलत प्रतिवेदन दिएको ।

३७. डा. सरोज श्रेष्ठ
मेडिकल काउन्सिलबाट प्रारम्भिक निरिक्षण गर्दा मेडिकल काउन्सिल नियमावलीको निरिक्षण ढाँचा पूर्णरुपमा पालना नगरेको । विज्ञको रुपमा गलत प्रतिवेदन दिएको ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद् सदस्य र डिनबाट हटाउन सिफारिस गरिएका:

३८. ताराप्रसाद सापकोटा, डिन, कानून संकाय– त्रिभुवन विश्वविद्यालय
सर्वोच्च अदालतको अवहेलनाको फैसलाको गलत व्याख्या गरी सम्बन्धन दिन–दिलाउन अन्य पदाधिकारीहरुसँग संलग्न भएको

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद् सदस्यबाट हटाउन सिफारिस गरिएकाहरु:

३९.  रामप्रसाद खतिवडा, डिन, विज्ञान संकाय– त्रिभुवन विश्वविद्यालय
पदअनुकूलको काम, कत्र्तव्य पालन र आचरण नगरेको । काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन–दिलाउन संलग्न भएको ।

४०. राजेन्द्र पौडेल, त्रिवि कार्यकारी परिषद् सदस्य
पदअनुकूलको काम, कर्तव्य पालन र आचरण नगरेको । काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन–दिलाउन संलग्न भएको ।

४१. हरि पराजुली
पदअनुकूलको काम, कत्र्तव्य पालन र आचरण नगरेको । काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन–दिलाउन संलग्न भएको ।

प्रचलित कानून बमोजिम सचेत गराउन सिफारिस गरिएका:
४२. डा. रामकण्ठ माकाजु, उपकूलपति–काठमाडौं विश्वविद्यालय
आरोपः मापदण्ड नपुगेका विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिन भूमिका खेलेको । केयूको प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेप निम्त्याएको ।

४३. डा अंकुर साह, सदस्य, नेपाल मेडिकल काउन्सिल
स्वास्थ्य मन्त्रालयबाट अस्पताल सञ्चाल स्विकृती नपाएको काठमाडौं नेसनलको अस्पतालमा फाइल मिलाइरहेको अवस्थामा फेला परेको । काउन्सिलको सदस्य भएर निजी मेडिकल कलेजको फाइल मिलाउनु गलत। उनलाई कारबाहीका लागि स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई सिफारिस।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
टी–२०आई सिरिज: आज नेपाल र युएई भिड्दै
आज अक्षय तृतीया पर्व मनाइँदै
सम्बन्धित सामग्री
आज अक्षय तृतीया पर्व मनाइँदै पञ्चाङ्ग निर्णायक समितिका अनुसार वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेता युग सुरु भएको हो। यही दिन ८ चिरञ्जीवीमध्ये एक परशुराम अवतारको ज... सोमबार, वैशाख ७, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम यस मौसमी प्रणालीका कारण देशका विभिन्न भू-भागमा बदली, वर्षा र हिमपातको स्थिति सिर्जना भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा... सोमबार, वैशाख ७, २०८३
वैदेशिक अध्ययनमा जानेलाई अब घरबाटै ‘नो अब्जेक्सन लेटर’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त... आइतबार, वैशाख ६, २०८३
ताजा समाचारसबै
विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह सोमबार, वैशाख ७, २०८३
टी–२०आई सिरिज: आज नेपाल र युएई भिड्दै सोमबार, वैशाख ७, २०८३
आज अक्षय तृतीया पर्व मनाइँदै सोमबार, वैशाख ७, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम सोमबार, वैशाख ७, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’ आइतबार, वैशाख ६, २०८३
सुनको मूल्य वृद्धि आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्