जनकपुरधाम–मधेश प्रदेशमा सत्ता समीकरण फेरिने संकेत देखिएको छ। नेकपा एमालेले नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएको छ।
एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका हुन्। एमालेका प्रमुख सचेतक हरिनारायण महतोले मन्त्रीहरूले राजीनामा बुझाउनुका साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जानकारी दिएका छन्।
सरकारबाट बाहिरिने निर्णयसँगै एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले पद त्यागेका छन्।
मधेश प्रदेशमा नेपाली कांग्रेसका यादव मुख्यमन्त्री छन्। उनको नेतृत्वको गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टी पनि सहभागी छ।
एमालेले सरकारबाट समर्थन फिर्ता लिएसँगै मधेश प्रदेशको राजनीतिक समीकरणमा फेरबदलको सम्भावना बढेको छ। नयाँ सरकार गठनको कसरतका लागि एमालेले समर्थन फिर्ता लिएको हो।
एमालेको निर्णयपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकारको राजनीतिक भविष्य र प्रदेशमा नयाँ सत्ता गठबन्धन निर्माणको सम्भावनाबारे चासो बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।