काठमाडौं। रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र जाँच समितिले शुक्रबार सिनेमालाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने गरी युनिभर्सल सर्टिफिकेट दिएको हो। सिनेमा आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ।
निर्देशक गुरुङका अनुसार चलचित्र जाँच समितिका पदाधिकारीले सिनेमाको प्रशंसा गरेका छन्। अघिल्ला शृङ्खलामा जस्तै सामाजिक कथालाई हास्य शैलीमा प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिने प्रतिक्रिया समितिबाट पाएको उनले बताए।
सिनेमाको पोस्टर, टिजर, ट्रेलर र गीत सार्वजनिक भएपछि दर्शकमाझ यसको चर्चा बढेको निर्माण पक्षको दाबी छ। विशेषगरी ट्रेलरमा देखाइएको काजी र उनको टोलीले मुस्ताङमा ‘शान्ति होटल’ खोलेर नयाँ व्यवसाय सुरु गरेको कथा, काजीको वैवाहिक जीवनमा आउने उतारचढाव तथा विपीन कार्कीको ग्याङसँगको टकरावले दर्शकको ध्यान खिचेको छ।
टिजरमा मिरुना मगरको पात्र ‘शान्ति मिस’ को झलक खोजिरहेका दर्शकले गीत र ट्रेलरमा उनको उपस्थिति देखेपछि खुसी व्यक्त गरेको निर्माण पक्षले जनाएको छ। त्यस्तै, विपीन कार्कीको नयाँ ग्याङस्टार अवतारले पनि दर्शकमाझ चासो बढाएको छ।
यसअघि सार्वजनिक ‘थाक खोला’ गीतले पनि सिनेमाप्रति दर्शकको उत्सुकता बढाएको निर्माण पक्षको दाबी छ। ‘कबड्डी’का अघिल्ला चार शृङ्खलाले व्यावसायिक सफलता हासिल गरेकाले पाँचौँ शृङ्खलाप्रति दर्शकको अपेक्षा उच्च रहेको छ।
सिनेमामा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंसहितका कलाकारले अभिनय गरेका छन्।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता छन्। सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ। सिनेमाको छायांकन सञ्जय लामाले गरेका छन् भने सम्पादन सुरेन्द्र पौडेलको छ।
सोमनाथ खनाल र तारानाथ न्यौपाने सिनेमाका मुख्य सहायक निर्देशक हुन्। नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले वितरण गर्ने सिनेमा विदेशमा भने सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।