काठमाडौं। आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
ओमानको अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै शीर्ष ६ मा स्थान सुरक्षित गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रनेछ।
नेपाल र क्यानडा दुवैका लागि यो खेल अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हो। क्यानडा शीर्ष ६ मा पर्ने सम्भावना कायम राख्न जितको खोजीमा छ भने नेपाल जित निकाल्दै आफ्नो स्थान सुनिश्चित गर्न चाहन्छ।
अंक तालिकामा नेपाल क्यानडाभन्दा एक अंकले अगाडि छ। नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई बराबरीसहित २८ अंक जोडेको छ। सातौं स्थानमा रहेको क्यानडाले ३५ खेलमा ११ जित, १९ हार र पाँच खेलमा अंक बाँड्दै २७ अंक हासिल गरेको छ।
नेपाल र क्यानडाबीच हालसम्म भएका ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले ४ र क्यानडाले २ खेल जितेका छन्। सन् २०२४ मा क्यानडासँग पराजित भएयता नेपालले पछिल्लो खेलमा जित निकालेको थियो।
आजको खेलमा पनि जित निकाल्दै नेपाल आफ्नो पछिल्लो सफलतालाई निरन्तरता दिन चाहन्छ। क्यानडालाई हराएमा नेपालले शीर्ष ६ मा स्थान सुनिश्चित गर्नुका साथै सिरिजको अन्तिम खेलमा ओमानविरुद्ध खेल्दा दबाब कम गर्न सक्नेछ।
नेपालले जारी सिरिजका सुरुआती दुवै खेल जितेको छ। पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानमाथि ११३ रनको फराकिलो जित निकालेको थियो। यही लय कायम राख्दै क्यानडाविरुद्ध अर्को जित हात पार्ने नेपालको लक्ष्य छ।
पहिलो खेलमा नेपालसँग पराजित भएको क्यानडा त्यसको बदला लिँदै शीर्ष ६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छ। उसले पछिल्लो खेलमा ओमानलाई ५८ रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।