काठमाडौं। बडादसैँको सातौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गर्ने वैदिक सनातन परम्परा छ। नवरात्रको सातौँ दिन आजै दसैँ घरमा फूलपातीसमेत भित्र्याइँदैछ।
विभिन्न पुराणमा कालरात्रि देवीलाई कृष्ण वर्णकी र भयङ्कर स्वरूप भएकी देवीका रूपमा वर्णन गरिएको छ। धार्मिक मान्यताअनुसार प्राणीमात्रलाई नष्ट गर्ने काललाई समेत भगवतीले नष्ट गर्न सक्ने भएकाले देवीको यस स्वरूपलाई कालरात्रि भनिएको हो।
नवरात्रको पहिलो दिन असोज १५ गते घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा जौँको जमरा राखिएको थियो। त्यस दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो।
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना गरिएको थियो। सातौँ दिन आज कालरात्रि देवीको पूजा गरिँदैछ। आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन छ। देवीको आराधना र पूजाबाट शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। सातौँ दिन फूलपाती भित्र्याउने परम्पराअनुसार आज अपराह्नकालमा वैदिक विधिबमोजिम फूलपाती भित्र्याइन्छ।
नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।