काठमाडौं- सरकारले म्यानपावर संञ्चालनका लागि साविकको व्यवस्था परिवर्तन गरी धरौटी वृद्धि गरेको विषयमा रोजगार व्यवयासीबीच नै विवाद सुरु भएको छ।
धरौटी वृद्धिका विषयमा सरकारसँग संवाद र प्रतिवाद गर्न नसकेको भन्दै नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम छाता संस्था वैदेशिक रोजगार व्यवसायी संघ विरुद्ध उत्रिएको छ।
संघको नेतृत्व असक्षम र व्यवसायीको हकहितमा काम गर्न नसकेको भन्दै कार्यालयमा ताला लगाउने फोरमले बताउँदै आएको छ।
संघले भने कार्यलयमा काम गर्ने कर्मचारी र संघका पदाधिकारीमाथि फोरमको नेतृत्वबाटै आक्रमण हुनसक्ने भन्दै कार्यलयको काम कारबाही तत्काल आफैं बन्द गरेको जनाएको छ।
धरौटी वृद्धिका विषयमा छलफल गर्न संघले व्यवसायीको भेला बोलाएको थियो। तर, संघको विरोधमा फोरम उत्रिएपछि उक्त भेला बस्न नसकेको जानकारी संघले दिएको छ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले फोरमको नेतृत्वले नै कार्यालयका भौतिक संरचना तोडफोड गर्न अग्रसर भएको भन्दै कार्यालयका कर्मचारीको सुरक्षाका लागि कार्यलय बन्द गर्नुपरेको बताएका छन्।
सरकारले बढाएको धरौटीका विषयमा संघले मध्यमार्गी बाटोबाट समस्याको समाधान र छलफल गर्ने प्रयास गरिरेका बेला व्यवसायीले नै बखेडा निकाल्नु उचित नभएको बताउँदै अध्यक्ष गरुङले संघको जिम्मेवारीमा रहेर काम गरिसकेका व्यक्ति नै बुझि–बुझी अञ्जान बनेर संघको कार्यालयमा तालाबन्दी गर्ने नाममा तोडफोड गर्नसक्ने भन्दै कार्यालय बन्द गरिएको बताए।
फोरमका उपाध्यक्ष सुजित श्रेष्ठले संघ सबै व्यवसायीको छाता सगंठनका अध्यक्षसँग राज्यको पछिल्लो गतिविधिका विषयमा छलफल गर्न खोज्दा स्वयम् अध्यक्षले नै कार्यालय अनिश्चितकालका लागि कार्यालय बन्द गरेको आरोप लागाएका छन्।
व्यवसायीमाथि राज्यले गरेका अत्याचारको रमिता हेरेर बसिरहेको उनको आरोप छ। आज राजधानीमा भएको फोरमको भेलाले चरणबद्ध रुपमा राज्यसँग वाता नभए आन्दोलन गर्ने निर्णय गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दा म्यानपावर कम्पनीको धरौटी रकम वृद्धि गर्ने भएको छ। हाल भइरेको ३० लाख धरौटीलाई म्यानपावरको वर्गीकरण गरेर ६ करोडसम्म पुर्याउने भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय पारित गरेर छलफलका लागि संसदमा पठाएको छ। अब म्यानपावर चलाउन कामदार पठाएको आधारमा ३ देखि ६ करोडसम्म धरौटी राख्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।