मलेसिया– लंकाबीमा सम्पन्न पाटा ट्राभल मार्ट–२०१८ को ४१औं संस्करणमा नेपालले सक्रिय तथा प्रभावकारी सहभागिता जनाएको छ।
पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन व्यवसायीहरु, विद्यार्थी तथा मिडिया प्रतिनिधिसहित सेप्टेम्बर १२ देखि १४ सम्म मलेसियाको लंकाबीमा आयोजित पाटा ट्राभल मार्टमा “नेपाल पेभिलियन” अन्तर्गत सक्रिय तथा प्रभावकारी सहभागिता जनाएको हाे।
मलेसिया सरकारद्वारा होस्ट गरिएको मार्टमा नेपालबाट अभिवादन एक्सपिडिशन होलिडेज, कम्युनिटी होमस्टे नेटवर्क, द यात्रा कोर्टयार्ड, गोइङ्ग नेपाल, कैलाश ग्रुप नेपाल, हिमालयन होलिडेज् ट्रेकिङ्ग एण्ड टुर्स, लाङटाङ्ग री ट्रेकिङ्ग एण्ड एक्सपिडिसन, सांग्रिला होटेल एण्ड रिसोर्ट, नेपाल होलिडे मेकर्स टुर्स एण्ड ट्राभल्स र अप एभरेष्ट ट्राभल्स एण्ड टुर्स गरी १० वटा निजी क्षेत्रका पर्यटन व्यवसायी कम्पनीले भाग लिएका थिए।
पाटा ट्राभल मार्ट– २०१८ मा विश्वभरिका ७० गन्तव्यहरुबाट कुल १४०० सहभागी थिए। जसमा २०८ वटा संघ संस्था÷कम्पनीहरु तथा ३३ वटा गन्तव्यहरुबाट ३२% स्थानीय गरी कुल ३८९ बिक्रेता सहभागी र २४१ वटा संस्था तथा ५३ स्रोत बजारबाट कुल २५२ क्रेताबीच व्यापार आदानप्रदान तथा गन्तव्य प्रवर्द्धनका विषयमा छलफल कार्यक्रम आयोजना गरिएको थियो।
पाटाले नेपाल, बंगलादेश, सिंङ्गापुर, क्यानडा, फिलिपिन्स तथा मलेसियाबाट २१० जना युवा पर्यटन प्रोफेसनलहरुलाई पनि पाटा युथ सिम्पोजियमका लागि लंकावीमा आमन्त्रण गरेको थियो।
नेपालबाट पाटा नेपाल स्टुडेन्ट च्याप्टरलाई प्रतिनिधित्व गर्दै मिड भ्याली इन्टरनेसनल कलेजमा अध्यनरत तमन्ना प्रधान र आइएसटी कलेजका जिग्मे लामाले पाटा नेपाल च्याप्टरको प्रायोजनमा सहभागी हुने अवसर पाएका थिए।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले नेपालको अलौकिक सौन्दर्य र विविधताबारे अन्तर्राष्ट्रिय मिडिया प्रतिनिधिलाई जानकारी गराएका थिए।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पाटा ट्राभल मार्ट नेपालको विविधता संसारका सामु देखाउने अनुपम अवसर भएको बताए । सेप्टेम्बर १५ मा भएको पाटा अन्तर्राष्ट्रिय गन्तव्य समितिको बैठकलाई अध्यक्षता पनि जोशीले गरेका थिए।
पाटा ट्राभल मार्टमा राखिएको नेपालको स्टलमा दर्शकको आकर्षण थियो। खासगरी परम्परागत प्यागोडा तथा स्तुपा शैलीमा सजाइएको नेपाली पेभिलियनमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका विविध सेवा तथा वस्तुहरु सजाइएको थियो।
सेप्टेम्बर १५ तारिखका दिन आयोजित पाटा बोर्ड डिनर तथा च्याप्टर अवार्ड प्रिजेन्टेशन समारोहमा पाटा नेपाल च्याप्टरलाई पाटा नेक्स्ट जेन एन्गेजमेन्ट अवार्ड प्रदान गरियो। उक्त अवार्र्ड पाटा नेपालका महासचिव श्री विभूति चन्द ठाकुरले ग्रहण गरेका थिए।
नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२०लाई अझ सशक्त प्रचार गर्न पाटा ट्राभल मार्ट २०१८मा बायर्स लाउन्जको प्रायोजन गरेको थियो। उक्त लाउन्जमा करिब २०० भन्दा बढी अन्तर्राष्ट्रिय बायर्सहरु पुगी व्यापारिक छलफल तथा नेपाल गन्तव्यबारे चासो व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।