काठमाडौं– सरकारले साउदी अरब वैदेशिक रोजगारीका जाने नेपाली कामदारको न्यूनतम तलब तथा सेवा सुविधा ६ वर्षपछि पुनरावलोकन गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत महिलामन्त्री परिषद् बैठकमा लगेको प्रस्तावलाई गत शुक्रबार बसेको मन्त्रिपरिषदकै बैठकले पारित गरेको थियो।
अब साउदी जाने नेपाली कामदारका हकमा न्यूनतम पारिश्रमिक एक हजार रियाल लागू हुने भएको छ। श्रममन्त्री विष्टको पहलमा ६ वर्षपछि साउदी जाने कामदारको तलब सेवा सुविधामा हेरफेर भएको छ।
साउदी वैदेशिक रोजगारीमा जाने अदक्ष कामदारले एक हजार तलब र खाना भत्ता ३ सय रियाल गरी १ हजार ३ सय (करीव ३७ हजार नेपाली रुपैयाँ) पाउने छन्। अन्य सुविधाका लागि ३ सय रियाल पनि गरी १ हजार ५ सय रियाल पुग्नेछ।
यसअघि रोजगारीमा साउदी जाने कामदारको न्यूनतम तलव ८ सय थियो। खानाका लागि २ सय भत्ता तोकिएको थियो।
सरकारको गरेको निर्णयपछि साउदीमा रहेका र अब जाने अदक्ष कामदार लाभान्वित हुने विश्वास मन्त्रालयले लिएको छ।
साउदी जाने कामदारको औषधी उपचार, आवास, यातायात, ओहोर–दोहोर खर्च र हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको श्रम मन्त्रालयले जानकारी दिएको छ।
क्षमता र सीपका आधारमा रोजगारीका लागि साउदी पठाइने श्रम मन्त्रालयले जनाएको छ। अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका लागि भने न्यूनतम पारिश्रमिक पनि फरक–फरक तोकिएको श्रम मन्त्रालयको भनाई छ।
राजपत्रमा प्रकाशित भएको मितिदेखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणीकरण र श्रम स्वीकृति जारी गरिने मन्त्रालयले जनाएको छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।