काठमाडौं– चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिना (साउनदेखि पुस मसान्तसम्म) मा विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो अहिलेसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति भएको विज्ञहरु बताउँछन्।
चालु आर्थिक वर्षको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको थियो। अमेरिकी डलरमा यस्तो सञ्चिति चालू वर्षको असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको थियो भने पुस मसान्तमा १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ।
२०७८/०७९ को पहिलो ६ महिनामा चालु खाता घाटा ३ खर्ब ५४ अर्ब पुग्दा शोधनान्तर घाटा २ खर्ब ४१ अर्ब नाघेको थियो। २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब रहेको विदेशी विनिमय सञ्चिति ६ महिनामै १६.७ प्रतिशतले घटेर करिब ११ खर्ब ६६ अर्ब पुगेको थियो।
यस्तै दुई वर्षदेखि नियन्त्रण बाहिर रहेको मूल्यवृद्धि पछिल्लो तीन महिनायता लगातार मौद्रिक नीतिको लक्षित सीमा भित्रै रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार देशको अर्थतन्त्रका धेरैजसो सूचक सुधारात्मक लयमा गएको देखिन्छ।
आयात प्रतिबन्ध र कसिलो मौद्रिक नीतिका कारण आयातमा गिरावट आएको छ। बढ्दो रेमिट्यान्सको कारण विदेशी मुद्रा सञ्चिति पुनः बढेर अहिलेसम्मकै उच्च हुन पुगेको विज्ञहरुको भनाइ छ। अहिलेकै अवस्थामा आयात हुँदा पनि एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति पुगेको छ।
२०७८/०७९ मा चालु खाता घाटा ६ खर्ब २३ अर्ब पुगेको थियो भने शोधनान्तर घाटा २ खर्ब ५५ अर्ब पुग्यो। तर चालु खाता पनि चालु आवको सुरुवातदेखि नै बचतमा छ भने शोधनान्तर बचत ६ महिनामै करिब पौने ३ खर्ब पुगेको छ। २०७२/०७३ यता लगातार घाटामा रहँदै आएको चालु खाता चालु आव ६ महिनामै १ खर्ब ६५ अर्बले बचतमा पुगेको छ। शोधनान्तर स्थिति २०७९ असोज यता लगातार बचतमा देखिएको छ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीति क्रमशः खुकुलो बनाउँदै लैजाँदा २०७९ माघ र फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको कर्जाको औसत ब्याजदर २०८० पुस मसान्तमा आउँदा ११.३८ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
तर, देशको बाह्य अर्थतन्त्रको सुधार भएको देखिए पनि सरकारको पूँजीगत खर्चमा देखिएको निराशाजनक अवस्था र ब्याजदर घटेको बेलासमेत कर्जा विस्तार हुन नसक्दा देशको आन्तरिक अर्थतन्त्र सुधार हुन नसकेको अर्थविद् केशव आचार्य बताउँछन्।
‘अर्थतन्त्रलाई दुई पाटोबाट हेर्दा विदेशी अर्थतन्त्रसँग सम्बन्धित पाटोहरुमा निरन्तर सुधार भइरहेको छ। विप्रेषण आय बढिरहेको छ। विदेशी मुद्रा सञ्चिति बढिरहेको छ। शोधानान्तर स्थिति चालू खाता बचतमै छ। व्यापार घाटा घटेको छ। झट्ट होर्दा यो राम्रो हो तर यता ब्याजदर पहिलाको तुलनामा क्रमश: घट्ने क्रममा छ। बैंकको बैंकदर घट्दो अवस्थामा छ। बैंकहरुसँग पर्याप्त मात्रामा तरलता छ। तर कर्जा प्रवाह हुन सकेको छैन,’ उनले भने।
यस्तै मुद्रास्फीतिको वृद्धिदर एकदम कम, लक्ष्य ६.५ प्रतिशत भनेकोमा ५ प्रतिशत सवा ५ प्रतिशतमा रहेको र हेर्दा सुधार दखिएको उनको भनाइ छ। तर ठूलो परिमाणमा तरलता बैंकहरुसँग हुँदा र ब्याजदर घट्दा पनि निजी क्षेत्रलाई जाने पर्ने कर्जा प्रवाह हुन नसक्नु दुःखद रहेको उनी बताउँछन्। त्यस कारण बैंकहरुमा निक्षेपको वृद्धिदर कर्जाको वृद्धिदरभन्दा माथि रहेको उनको भनाइ छ।
‘बैंकबाट कर्जा गइरहेको छैन। यो भनेको हाम्रो नेपालको निजी क्षेत्र विश्वासको एकदमै ठूलो संकटमा छ। लगानी गर्न हिच्किचायो। किनभने, लगानी गरेँ भने म सुरक्षित छु कि छैन। मलाइ नाफा आउँछ कि आउँदैन भन्ने हिसाब निजी क्षेत्रले देखायो। त्यसले गर्दा अर्थतन्त्रको अरु पाटो विदेश जाने रोजगारी बढेको छ। तर आन्तरिक अर्थतन्त्रले रोजगारी विस्तार गर्न सकेको छैन,’ उनले भने।
जति लगानी छ, त्यो व्यापारमा मात्रै रहेको र पछिल्लो समय सेयर बजारमा अलिअलि लगानी सुरुवात भएको उनको भनाइ छ। व्यापार व्यवसाय र घरजग्गा कारोबार ठप्प रहँदा पनि देशको आन्तरिक अर्थतन्त्र सुधार हुन नसकेको उनको दाबी छ।
‘सानासान चिया पसल, होटल, रेस्टुरेन्ट, किराना पसलहरुमा पहिला जस्तो व्यापार छैन। आम्दानी छैन। मुल सडकमा सटर बन्द छ। हाम्रो अर्थतन्त्र खण्डित भयो। बाह्य क्षेत्र सुधार देखियो। त्यसको प्रभाव आन्तरिक अर्थतन्त्रमा पर्न सकेन। सरकारले राजस्व राम्ररी उठाउन सकेको छैन। आयात घटिरहेको छ। पूँजीगत खर्च गर्न सकिरहेको छैन,’ उनले भने।
अर्थतन्त्र सुधार गर्नका लागि सरकारले निजी क्षेत्रलाई लगानी गर्न विश्वासको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ। यस्तै सरकारले पनि पूँजीगत खर्च बढाउनु पर्ने उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।