काठमाडौं– सन् २०१२ बाट ग्राउन्डेड ट्वीनअटर जहान बनाउन नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निर्देशन दिएको करिब ६ महिना भएको छ।
कानुनी प्रक्रिया पूरा भएको २ महिनामा जहाज बनाइसक्ने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्री किराँतीलाई आस्वस्त बनाएका थिए।
मन्त्री किराँतीको निर्देशनपछि वायुसेवा निगम सञ्चालक समितिको बोर्ड बैठकले ग्राउन्डेड जहाज बनाउने निर्णय गरेको थियो। त्यही अनुसार मन्त्री किराँतीले सञ्चार माध्यममा हाल सञ्चालनमा रहेको २ र नयाँ खरिद गरिने ३ जहाज सँगै ग्राउन्डेड जहाज बनाएर ६ वटा जहाजबाट दुर्गममा सेवा दिने बताउँदै आएका थिए।
तर, ग्राउन्डेड जहाज बनाउन बोर्डबाट निर्णय भएको २ महिना बित्न लाग्दासमेत जहाज नबनेपछि सोमबार मन्त्री किराँती अनुगमनका लागि जहाज मर्मतस्थलमा पुगेका थिए। जहाज मर्मतमा खटिएका टोलीबाट मन्त्री किराँतीले सन्तोषजनक जवाफ नपाएपछि कडारुपमा प्रस्तुत भएका थिए।
‘जनताले कागजात हेर्दैनन् परिणाम चाहेका छन्। मलाई परिणाम चाहियो जहाज कहिले सम्म बनि सक्छ? यसको उत्तर चाहियो? पहिला जस्तो ढाँट्न पाइन्न। मलाई परिणाम चाहिएको हो। परिणाम दिन नसक्ने कर्मचारीलाई मैले निगममा किन राख्ने?’, मन्त्री किराँतीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई लक्षित गर्दै भने।
‘मलाई परिणाम निकाल्न जनताले निर्वाचित गरेका हुन् र प्रधानमन्त्रीज्यूले मलाई यो मन्त्रालयको जिम्मा दिनुभएको हो। तपाँईबाट मैले जस्तै मबाट प्रधानमन्त्रीज्यूले परिणाम खोज्नु हुन्छ। मैले परिणाम दिन नसके मलाई प्रधामन्त्रीज्यूले मन्त्रीको कुर्सीमा किन राख्ने?’ आक्रोशित हुँदै किराँतीले भने।
बोर्ड बैठकबाट करिब २० करोड सम्म जहाज मर्मतका लागि लाग्ने खर्चको समेत निर्णय गरेको थियो। तर हाल सम्म पनि जहाज मर्मतका लागि स्पष्ट कार्ययोजना समेत नबनाई निगम व्यवस्थापनले आलटाल गरिरहेपछि मन्त्री किराँती खरोरुपमा उत्रिएका हुन्।
मन्त्री किराँतीले प्रत्येक हप्ता आफू निरीक्षणमा आउने र कार्ययोजना अनुसार काम गरेर प्रगति विवरण आफूलाई पेस गर्न निगमलाई निर्देशन दिएका छन्। कानुनी बाधा हटाउन आफू तयार रहेको र आफूलाई खाली परिणामसँग सरोकार रहेकाले जसरी हुन्छ चाडो जहाज बनाई सक्न निर्देशन दिएका छन्।
अन्यथा आफू निर्मम भएर ढिलासुस्ती गर्ने कर्मचारीप्रति कदम चाल्नेसमेत चेतावनी दिएका छन्। आफूले जति कुनै पनि मन्त्रीले निगमको पक्षमा विगतमा खुलेर बचाउमा नलागेको गुनासो गर्दै यतिबेलासमेत निगम सुधार नभए कहिल्यै नहुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।