काठमाडौं– सिरियासँग जोडिएको जोर्डनको सीमा क्षेत्रमा रहेको अमेरिकी आधार शिविरमा ड्रोन आक्रमण हुँदा ३ अमेरिकी सैनिकको मृत्यु भएको छ। आक्रमणमा परी दर्जनौं घाइते भएका बताइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त हमला ‘कट्टरपन्थी इरान समर्थित लडाकु समूह’ले गरेको बताएका छन्। उक्त हमलाको अमेरिकाले जवाफ दिने बाइडेनको भनाइ छ।
इजरायलमा हमासले अक्टोबर ७ मा गरेको आक्रमणपछि यस क्षेत्रमा भएको यो पहिलो आक्रमण हो, जसमा अमेरिकी सैनिक मारिएका छन्। जोर्डनले उक्त आक्रमण आफ्नो सीमाभित्र नभइ सिरियामा भएको बताएको छ।
यस क्षेत्रमा अमेरिकी अड्डाहरूमा अन्य आक्रमणहरू पनि भएका छन्, तर अहिलेसम्म अमेरिकी सेनाले कुनै हताहतको रिपोर्ट गरेको छैन।
यो पछिल्लो आक्रमणमा कसको हात छ भन्ने पनि स्पष्ट छैन। राष्ट्रपति बाइडेनले भने, ‘सबै जिम्मेवारहरूलाई एकै समयमा र हाम्रो छनौटको हिसाबले जवाफदेही बनाइनेछ।’
ह्वाइट हाउस सचिवालयका अनुसार आइतबार बिहान अमेरिकी रक्षा सचिव लोयड अस्टिन र अन्य अधिकारीहरुले आक्रमणका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए। परिवारलाई सूचित गर्ने काम भइरहेकाले मारिएका र घाइते भएका सैनिकहरूको नाम अझै सार्वजनिक नगरिएको बताइएको छ।
अमेरिकी अधिकारीहरूले कम्तीमा ३४ सैन्य कर्मचारीहरूलाई सम्भावित दर्दनाक मस्तिष्क चोटको लागि मूल्याङ्कन गरिएको बताएका छन्। केही घाइते सैनिकहरूलाई थप उपचारको लागि आधार शिविरबाट निकालिएको छ।
ड्रोनबाट सैनिकहरु बस्ने आवासमा पनि आक्रमण गरिएको थियो। उक्त आक्रमणको पुष्टि भएमा ठूलो संख्यामा हताहत हुन सक्ने अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।