नितीश कुमार काठमाडौं– भारतीय राज्य बिहारका मुख्यमन्त्री नितीश कुमारले राजीनामा दिएका छन्। बिहारका राज्यपाल राजेन्द्र आर्लेकरलाई राजीनामा बुझाएपछि नितीशले महागठबन्धनबाट पनि अलग भएको घोषणा गरेका छन्।
राजधानी पटनामा सञ्चारकर्मीसँग बोल्दै नितीशले भने, ‘आज मैले आफ्नो पदबाट राजीनामा दिएको छु। हामीले पार्टीका सदस्यहरुको सल्लाह मान्यौं र सरकारलाई समाप्त गर्ने प्रस्ताव गर्यौं। हामी आज गठबन्धनबाट अलग भएका छौं।’
आठौं पटकका लागि मुख्यमन्त्री पदका लागि शपथ लिएको १८ महिना नपुग्दै गठबन्धन फेर्नका लागि नितीशले राजीनामा दिएका छन्। उनले पुन: भारतीय जनता पार्टी (बीजेपी)सहितको नेशनल डेमोक्रेटिक अलाएन्स (एनडीए)सँग जोडिने निर्णय गरेका छन्।
नितीश कुमारले सन् २०२२ को अगस्टमा बीजेपीको साथ छाड्दै महागठबन्धनमा सामेल हुने निर्णय गरेका थिए। त्यतिबेला उनले बीजेपीका कारण राज्यमा आफूहरु कमजोर भइरहेको निष्कर्ष निकालेका थिए।
राज्यपाल राजेन्द्र आर्लेकरलाई राजीनामा बुझाउँदै नितीश कुमारबीजेपीले आफूहरुलाई कमजोर बनाउन भूमिका खेलेकाले उक्त पार्टीसँग सत्ता सहकार्य गर्न नसकिने निष्कर्ष सुनाउँदै नितीश कुमारले ९ अगस्ट २०२२ मा एनडीएसँगको यात्रा टुंग्याएका थिए।
त्यसपछि उनी प्रदेशको सबैभन्दा ठूलो पार्टी राष्ट्रिय जनता दल (आरजेडी)सँग मिलेर आठौंपटक मुख्यमन्त्री बनेका थिए। त्यतिबेला नितीशलाई मुख्यमन्त्री बनाउन आरजेडीसँगै अन्य साना–ठूला गरी ७ दलले समर्थन गरेका थिए।
अहिले नितीशले साथ फेरेपछि प्रमुख सत्ता साझेदार आरजेडीले उनलाई ‘धोकेबाज’को संज्ञा दिएको छ। आरजेडीका प्रवक्ता एजाज अहमदको प्रतिक्रिया छ, ‘नितीश कुमारले आफ्नो स्वार्थका लागि युवाहरुलाई रोजगारी दिने मामिलामा धक्का दिने र घृणाको राजनीति बढाउने काम गरेका छन्।’
नितीश कुमार नेतृत्वको सरकारमा आरजेडीबाट तेजस्वी यादवले उपमुख्यमन्त्रीसहित स्वास्थ्य तथा परिवार कल्याण, सडक निर्माण, आवास तथा शहरी विकास, ग्रामिण कार्य र पर्यटनसँग सम्बन्धित मन्त्रालय सम्हालिरहेका थिए। सरकारमा गएको १८ महिनामा तेजस्वीले युवाहरुलाई रोजगार दिने मामिलामा उल्लेख्य काम गरेको आरजेडीका नेताहरुको दाबी छ।
तर नितीश कुमारले व्यक्तिगत स्वार्थका कारण युवाहरुलाई रोजगार दिलाउने तेजस्वीको योजनालाई असफल बनाउन राजीनामा दिएर गठबन्धन फेरेको आरोप लगाएका छन्।
आरजेडीका प्रवक्ता अहमद भन्छन्– ‘रोजगारी मिल्न थालेपछि बिहारका युवाहरुको अनुहारमा जुन मुस्कान थियो नितीशले त्यसलाई खोस्ने प्रयास गरेका छन्। नितीशले राजीनामा दिएर युवा र युवाहरुको नेता तेजस्वी यादवको सोचमा धक्का पुर्याउने काम गरेका छन्। उनले यो बताउनु पर्छ कि के कारण, कुन स्वार्थबाट प्रेरित भएर उनी भारतीय जनता पार्टीसँग गइरहेका छन्। अब यहाँ ठग र लोभीहरुको गठबन्धन तयार हुँदैछ। ९ अगस्ट २०२२ भन्दा पहिले नितीशले नै भनेका थिए भारतीय जनता पार्टीले हाम्रो अस्तित्व समाप्त गर्न चाहन्छ, हाम्रो पार्टीलाई समाप्त गर्न चाहन्छ। हामी सबै समाजवादी विचारधारा भएका व्यक्तिहरु मिलेर यो शक्तिलाई परास्त गर्न सक्छौं। तर आज आफ्नो स्वार्थका कारण बीजेपीसँग गइरहेका छन्।’
बीजेपीका नेताहरुले अब नितीश कुमार नै मुख्यमन्त्री बन्ने स्पष्ट पारेका छन्। बीजेपीका प्रवक्ता शहनवाज हुसैनले नयाँ गठबन्धनबाट नितीश नै मुख्यमन्त्री बन्ने बताएका छन्। साथै नितीशले २ जना उपमुख्यमन्त्री पनि बनाउन सक्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।