काठमाडौं- काठमाडौं- रुसी सेनामा भर्ती भएर गम्भीर घाइते भई नेपाल फर्केका दैलेखका युवा कृष्णप्रसाद वली परिवारलाई ढाँटेर रुस पुगेको खुलेको छ। युक्रेनी सेनाको ६ राउण्ड गोली लागेर घाइते भइ नेपाल फर्केर महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा उपचाररत ती युवा परिवारलाई ढाँटेर इन्जिनियर पढ्न भन्दै रुस पुगेर आर्मीमा भर्ती भएको खुलेको हो।
वली केही समय पहिलासम्म दुबईमा काम गर्थे। त्यसपछि नेपाल फर्किएका उनी इन्जिनियरिंग अध्ययन गर्न जान्छु भन्दै रुस गएको उनको परिवारले बताएका छन्। परिवारलाई इन्जिनियरिङ पढ्न जान्छु भनेका ती युवा रुस पुगेपछि भने रुसी सेनामा भर्ना भएको उनी घाइते भएपछि मात्रै परिवारले थाहा पाएका थिए। दलालमार्फत रुस पुगेका उनी करिब १० दिन अघि युक्रेनी सेनाको आक्रमणमा परेर गम्भीर घाइते भएका थिए।
हात र खुट्टामा गरेर ६ राउण्ड गोली लागेका ती युवा त्यसपछि अस्पताल भर्ना भएका थिए। रुसकै अस्पतालमा रसियन आर्मीको निगरानीमा उनको उपचार भएको थियो। उक्त अस्पतालमा वलीको हात र खुट्टामा लागेका ६ राउण्ड गोली समेत निकालिएको थिए। अस्पतालमा भर्ना भएका वलीले घटनाबारे रुसस्थित नेपाली दूतावासमा सम्पर्क गरेर नेपाल फर्कने वातावरण मिलाइदिन आग्रह गरेका थिए। त्यसपछि उनी रसियन आर्मीको निगरानीबाट अस्पतालबाट भागेर रुसस्थित नेपाली दूतावासको सम्पर्कमा पुगेका बताइएको छ ।
दूतावासमा पुगेपछि नेपालमा रहेकी श्रीमतीसँग सम्पर्क गरी घटनाबारे जानकारी गराउँदै नेपाल फिर्ताका लागि प्लेन टिकट काटिदिन उनले बताएका थिए। नेपालबाट श्रीमतीले पठाएको रकमबाट प्लेन टिकट काटेर दूतावासले कागजातको सबै प्रक्रिया मिलाइदिएपछि आफू नेपाल फर्किएको उनले त्रिवि शिक्षण अस्पतालका डाक्टर समक्ष बताएका उपचारमा संलग्न एक डाक्टरले नेपाल लाइभलाई बताए।
गोली लागेको एक साता बितेपछि नेपाल फर्केका उनी विमानस्थलमा ओर्लिए लगत्तै त्रिवि शिक्षण अस्पताल गएर भर्ना भएका थिए। अहिले उनको अस्पतालमा उपचार भइरहेको छ।
वलीको अहिले टिचिङ अस्पतालस्थित आकस्मिक कक्षमा उपचार भइरहेको छ। वली बिहीबार राति मात्रै रुसबाट काठमाडौं उत्रिएर सोझै टिचिङमा भर्ना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।