काठमाडौं– रुसी सेनामा भर्ती भएर गम्भीर घाइते भएका दैलेखका एक युवालाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ। काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा ती युवाको उपचार भइरहेको उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
गम्भीर घाइते हुनेमा दैलेखका कृष्णबहादुर वली छन्। उनको शरीरमा ६ राउण्ड गोली लागेको पाइएको उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो। स्रोतले भन्यो, ‘वलीको खुट्टामा ४ राउण्ड र हातमा २ राउण्ड गरी जम्मा ६ राउण्ड गोली लागेको छ।’
वलीको अहिले टिचिङ अस्पतालस्थित आकस्मिक कक्षमा उपचार भइरहेको अस्पताल स्रोतले समेत पुष्टि गरेको छ। ‘अहिले उहाँलाई आकस्मिक कक्षमा राखेर उपचार गराइरहेका छौँ,’ अस्पताल स्रोतले नेपाल लाइभसँग भन्यो।
वली बिहीबार राति मात्रै रुसबाट काठमाडौं उत्रिएर सोझै टिचिङमा भर्ना भएका थिए। उनी कसरी नेपाल आए भन्ने अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन।
अवैध रुपमा रुसी सेनामा भर्ना भएका दैलेखका वली युक्रेनी सेनाको आक्रमणमा परी गम्भीर घाइते भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।