काठमाडौं– अमेरिकामा १ जना अभियुक्तलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ। हत्याको घटनामा दोषी ठहर भएका केनेथ युजिन स्मिथलाई अमेरिकाको अलाबामा राज्यले नाइट्रोजन सुँघाएर मृत्युदण्ड दिएको हो।
विश्वमै पहिलोपटक अमेरिकामा नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको हो। आफूलाई दिइने मृत्युदण्डको सजाय र त्यसको विधिविरुद्ध ५८ वर्षीय स्मिथले सर्वोच्च अदालतमा २ वटा अन्तिम अपील र संघीय अपील अदालतमा एउटा अपील गरेका थिए। तर अदालतले उनको अपील अस्वीकार गरिदियो।
यसअघि सन् २०२२ मै अलाबामाले घातक सुई (इन्जेक्शन) दिएर स्मिथलाई मृत्युदण्ड दिने प्रयास गरेको थियो। तर त्यतिबेला उनलाई इन्जेक्शन दिने नशा नभेटिएपछि उक्त विधि कार्यान्वय हुन सकेन।
मृत्युदण्ड सूचना केन्द्रले स्मिथ विश्वमै कहीँ पनि शुद्ध नाइट्रोजन ग्यासको उपयोग गरेर मृत्युदण्ड पाउने पहिलो व्यक्ति भएको बताएको छ।
अलाबामा र अन्य २ अमेरिकी राज्यले फाँसीको वैकल्पिक विधिको रुपमा नाइट्रोजन हाइपोक्सियालाई उपयोग गर्ने मञ्जुरी दिएको छ। किनभने परम्परागत रूपमा दिइने घातक सुईहरू अचेल पाउन निकै गाह्रो छ। यसले पनि मृत्युदण्ड कार्यान्वयनका घटना देशैभरि कमि भइरहेको छ।
सन् १९८९ मा एकजना धर्म प्रचारककी पत्नी एलिजाबेथ सेनेटको हत्यामा स्मिथ दोषी ठहर भएका थिए। सन् १९८८ को मार्चमा १ हजार डलर पाउने आशमा एलिजाबेथ सेनेटको हत्या गरेको घटनामा स्मिथ र अर्का एक व्यक्ति दोषी ठहर भएका थिए।
४५ वर्षीया सेनेटलाई आगो बाल्न प्रयोग गरिने धातुका सामग्रीले कुटपिट गरिएको थियो अनि उनको छाती र घाँटीमा चक्कु प्रहार गरिएको थियो। हत्यापछि त्यसलाई चोरीपश्चात् घटेको घटना जस्तो देखाउने प्रयास गरिएको थियो।
ऋणमा डुबेका धर्मप्रचारक चार्ल्स सेनेटले बीमाको पैसा पाउने लोभमा श्रीमतीको हत्याको योजना बुनेका थिए। अनुसन्धान अघि बढ्दै गएपछि उनले आत्महत्या गरेका थिए। एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।