उदयपुर– अरुण तेस्रो जलविद्युत आयोजनाको हाइटेन्सन लाइनको ‘अलाइनमेन्ट’ परिवर्तनको माग गर्दै सांसदसहितको स्थानीयको टोलीले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ।
उदयपुरका प्रतिनिधिसभाका सांसद सुरेशकुमार राई सहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, ऊर्जा मन्त्री वर्षमान पुन सहित विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसँग बालुवाटारमै भेटेर ज्ञापन पत्र बुझाएको हो।
‘कटारी नगरपालिकाको १, २, ३ र ४ नम्बर वडाका मानवीय बस्ती पूरै विस्थापित हुनेगरी नक्शांकन गरी लगत कट्टा गर्ने कार्य तत्काल रोक्न प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छौं’, सांसद राईले भने, ‘उदयपुरवासीको मागलाई प्रधानमन्त्रीज्यूले सकारात्मक रुपमा लिनु भएको पाएँ। त्यसकारण पनि अरुण तेस्रोको अलाइमेन्ट परिवर्तन हुनेमा विश्वस्त छु।’
कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले आफूहरुले सो कार्यका लागि आवश्यक स्थानको विकल्प दिन तयार रहेको बताएको जानकारी दिए। उनले भने, ‘तर कटारीको बस्ती विस्थापित हुने कुरामा भने सरकारले गम्भीर ढंगले सोच्नुपर्छ।’
अरुण तेस्रो हाइटेन्सन लाइनको ‘अलाइनमेन्ट’ परिवर्तन तथा सोलु करिडोरअन्तर्गत कटारीको मरुवामा परेका ५ वटा पोल परिवर्तनको मागसहितको ज्ञापन पत्र बुझाएको स्थानीय संघर्ष समितिका संयोजक केपी बरालले जानकारी दिए।
टोलीले बुधबार नै लगानी बोर्डका प्रमुख माधवप्रसाद अधिकारीसँग भेट गरी अरुण तेस्रो हाइटेन्सन लाइनको ‘अलाइमेन्ट’ परिवर्तन गर्न सुझाब दिएको बताएको छ।
ज्ञापनपत्र बुझाउन सांसद, कनपाका मेयर, वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवाला व्यक्तिहरु पुगेका थिए।
लगानी बोर्ड र सतजल विद्युत निगमबीच २५ नोभेम्बर २०१४ मा आयोजनाको पिडिएमा हस्ताक्षर भएको थियो।
प्रधानमन्त्री समक्ष बुझाइएको ज्ञापन पत्र:


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।