काठमाडौं– नेपाली शान्तिप्रकियाको मोडल अध्ययन गर्न काठमाडौं आएको अफगानी टोलीले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेट गरेको छ। अफगानीस्तानको उच्च शान्ति परिषद्की उपप्रमुख हबिबा साराबी नेतृत्वको टोलीले तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डरसमेत रहेका उर्जामन्त्री पुनसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको बाटोका बारेमा छलफल गरेको छ। हबिबा अफगानस्तानकी पूर्वमन्त्री हुन्।
उर्जामन्त्री पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ मोडल भएको बताए। उनले नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर संसारलाई एउटा सकारात्मक सन्देश दिएको दाबी गरे।
अफगानिस्तानको उच्च शान्ति परिषद्का प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री पुनले भने ‘नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय बनेको छ, हामीले शान्ति प्रक्रिया आफ्नै अग्रसरतामा सम्पन्न गर्न सफल भयौं।’ युद्ध कुनै पनि समाजको लागि राम्रो नभएपनि त्यसका पछाडि केही बाध्यता र केही ऐतिहासिक संयोग हुने बताए।
‘द्वन्द्वका पछाडि ठाउँ अनुसार आ–आफ्नै कारण हुन्छन्, तर युद्धको अवस्था शान्तिमा परिणत गर्न आवश्यक छ’ छलफलको क्रममा मन्त्री पुनले भने।
तत्कालीन माओवादीका उच्च तहका नेतासमेत रहिसकेका मन्त्री पुनले अफगानिस्तानमा शान्ति प्रक्रिया प्रारम्भ भएको थाहा पाउँदा खुशी लागेको बताए। नेपालको मोडलबाट अफगानिस्तानले सिकेर शान्ति कायम गर्ने दिशामा लाग्न समेत सुझाव दिए। शान्ति प्रक्रिया भनेको लडाइभन्दा जोखिम हुने भन्दै त्यसमा धैर्यतापूर्वक काम गर्न मन्त्री पुनको सुझाव थियो।
मन्त्री पुनले शान्ति प्रक्रिया, हतियार व्यवस्थापन र सेना समायोजनका बारेमा आफ्नो अनुभव सुनाएका थिए। उनले स्थायी शान्तिका लागि द्वन्द्वरत दुवै पक्ष जिम्मेवार भएमात्र निष्कर्षमा पुग्ने बताए।

‘शान्तिका लागि वार्ता र छलफल गर्दा दुवै पक्षले मध्यबिन्दू तय गर्नुपर्छ, वार्ता एक प्रकारको लेनदेन पनि हो, दुवै पक्षले मध्यबिन्दु तय गर्दा शान्ति प्रक्रिया अघि बढ्न सहज हुन्छ’ मन्त्री पुनले भने। उनले दुवै पक्ष आ–आफ्नो अडानमा रह्यो भने शान्ति प्रक्रिया अगाडि बढ्न कठिन हुने बताए।
मन्त्री पुनले अफगानिस्तानले नेपालले जस्तै सबै पक्ष समेटेर छिट्टै शान्ति कायम गर्नेमा आफू आशावादी रहेको बताए। शान्ति स्थापनाका लागि नेपाली मोडेल अवलम्बन गर्नसमेत सुझाव दिए। वार्ताका क्रममा उनले तत्लकालीन जनमुक्ति सेनाका सबै हतियार राज्यलाई बुझाएको उल्लेख गरे।
भेटमा साराबीले अफगानिस्तान शान्ति प्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्ति प्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिईन्। नेपालको शान्ति प्रक्रिया विश्वकै उदाहरणीय भएकाले सिक्न आफूहरू ईच्छुक रहेको बताईन्।
भ्रमण दलका सदस्यले नेपालमा जनयुद्धको क्रममा हतियारको स्रोत, पुर्व जनमुक्ति सेनासँग भएको हतियारको अवस्था र शान्ति प्रक्रियालाई सहयोग गर्न स्थापना भएको शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको काम कारबाहीका बारेमा समेत जिज्ञासा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।