काठमाडौं- धितोपत्र बजारमा यस साताकै उच्च वृद्धि आज भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव शून्य ६ अंकले वृद्धि भई एक हजार २ सय ३० बिन्दूमा पुगेको छ।
बजारमा दोहोरो अंकको वृद्धि भई कारोबार रकममा समेत वृद्धि भएको छ। कूल १ सय ६५ कम्पनीका रु ४३ करोड २९ लाख ५७ हजार ६८ मूल्य बराबरको सेयर किनबेच भएको थियो। नेप्सेका अनुसार होटल समूहको १ दशमलव ४१, फाइनान्स र उत्पादन समूह क्रमशः २ दशमलव २३ र २ दशमलव ६८ बिन्दूले घटे पनि अरु उपसमूहको शेयर भने वृद्धि भएको छ।
स्टकका अनुसार बैंकिङ १३ दशमलव ९८, विकास बैंक १४ दशमलव ८४, जलविद्युत् ४ दशमलव ८१, निर्जीवन बीमा १ सय १३ दशमलव ५२, अन्य ७ दशमलव १९, माइक्रोफाइनान्स १५ दशमलव ८८ र निर्जीवन बीमा समूह ३ दशमलव ९८ बिन्दूले बढेका छन्। कारोबारका आधारमा यस दिन एनआइसी एशिया बैंकको शेयर कारोवार आज अग्रस्थानमा छ। सो बैंकको रु चार करोड ८९ लाखको कारोवार हुँदा मूल्य प्रतिकित्ता शेयर मूल्य रु ४०७ कायम हुन पुगेको छ।
ग्लोबल आइएमई बैंकको तीन करोड ६९ लाखबराबरको सेयर कारोबार भएको छ। रिडी हाइड्रोपावर कम्पनी र मल्टीपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ५ दशमलव २ प्रतिशतले बढेको स्टकले जनाएको छ। बजार उच्च बिन्दुले बढ्दासमेत आइसिएफसी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् ५ दशमलव ७ प्रतिशत गुमाएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।