काठमाडौं– इजरायलको हमलाका कारण अल जजीराका फोटो पत्रकारको मृत्यु भएको छ। आक्रमणमा अल जजीराका मुख्य गाजा संवाददाता घाइते भएका छन्। गाजाको दक्षिणी शहर खान युनिसको एउटा विद्यालयमा हजरायलले गरेको आक्रमणबारे समाचार संकलन गर्न गएका उनीहरु आक्रमणमा परेका थिए।
इजरायली आक्रमणमा मारिएका फोटो पत्रकारको नाम समर अबू दक्का भएको बताइएको छ। घाइते भएका पत्रकार वाएल अल-दहदौह भएका बताइएको छ।
विद्यालयमाथि भएको इजरायली हमलाका सन्दर्भमा रिपोर्टिङ गरिरहेका बेला उनीहरुमाथि एउटा अर्को ड्रोनबाट आक्रमण भएको अल जजीराले उल्लेख गरेको छ।
पत्रकार दहदौहको पाखुरा र काँधमा गोली लागेको छ। जबकि अबू दक्का रगतले लत्पतिएर घटनास्थलमा नै ढलेका थिए।
अस्पतालमा उपचार गराइरहेका पत्रकार दहदौहले आक्रमणपछि आफूले भागेर ज्यान जोगाएको बताएका छन्। उनले आफ्ना साथी फोटो पत्रकार अबू दक्कालाई खोज्न भनेर एम्बुलेन्स र उद्धारकर्मीलाई आग्रह गरेको बताएका छन्।
अबू दक्कालाई खोज्न भनेर एम्बुलेन्स हमलास्थल रहेको विद्यालयतर्फ गएको पनि थियो। तर सडक अवरुद्ध भएका कारण फर्कियो।
सिभिल डिफेन्स टिमले अबू दक्काको शरीरबाट धेरै रगत बगेका कारण उनको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ।
खान यूनिस शहरका बासिन्दा ४५ वर्षीय अबू दक्का सन् २००४ देखि अल जजीरामा आबद्ध थिए। इजरायली सेनाले भने अबू दक्का मारिएको घटनामा अझै कुनै बयान दिएको छैन।
इजरायली आक्रमणमा घाइते भएका पत्रकार दहदौहले यसअघि नै आफ्ना परिवारका सदस्य गुमाएका थिए। अक्टुबर महिनाको अन्तिमतिर इजरायली हमलामा दहदौहकी श्रीमती, छोरा–छोरी र नातिको समेत मृत्यु भएको थियो।
इजरायलले योजनाबद्ध रुपमा दहदौहको परिवारलाई निशाखा बनाएको अल जजीराको आरोप छ। दहदौहलाई प्यालिस्टिनीहरुको ‘अनुहार’ मानिन्छ। प्यालिस्टिनीहरुको पीडा र दु:ख दुनियामाझ साझा गर्ने दहदौहलाई गाजामा धेरैले सम्मान गर्छन्।
६४ पत्रकारको मृत्यु
‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’का अनुसार, ७ अक्टुबरमा हमास तथा इजरायलका बीचमा युद्ध सुरु भएयता अहिलेसम्म अब्बू दक्कासहित ६४ जना पत्रकार मारिएका छन्। मारिएका पत्रकारमध्ये सबैभन्दा बढी ५७ जना प्यालिस्टिनी छन्। यस्तै, ४ जना इजरायली र ३ जना लेबनानी छन्।
अल जजीराले आफ्नो एउटा बयानमा आफ्ना पत्रकार तथा उनका परिवारका सदस्यलाई योजनाबद्ध रुपमा निशाना बनाउने तथा उनको हत्या गर्नका लागि इजरायल जिम्मेवार रहेको बताएको छ।
डिसेम्बर महिनाको सुरुमा भएको एउटा अर्को हमलामा अल जजीराका अन्य १ जना संवाददाता मोमेन अल शराफका बुवा, आमा र परिवारका अन्य २० जना सदस्य मारिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।