काठमाडौं– विशेष अदाललते जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सव–इन्जिनियर दिपेन्द्र कुमार केसीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतले शुक्रबार केसीलाई भ्रष्टाचारी ठहर गर्दै बिगो,जरिवाना र कैदको सजाय सुनाएको हो। कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २ लाख घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध २०७८ मंसिर ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले पक्राउ परेको घुसको रकमसहित बिगो, जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुसार कैद हुनुपर्ने दावी गरेको थियो।
अख्तियारले केसीलाई घुस लिइसकेको अवस्थामा २०७८ असोज १९ गते पक्राउ गरेको थियो। अनुसन्धानपछि विशेषमा मुद्दा दायर गरेको थियो।
न्यायाधीशहरु टेकनारायण कुँबर,रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।