काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाललाई शैक्षिक केन्द्र बनाउनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले आयाजना गरेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाललाई एजुकेसनल हब बनाउनसके र नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको स्तर माथि उठ्ने दाबी गरे।
उनले शिक्षा विधेयक ल्याउनलाई प्रसव पीडा भोग्नुपरेको बताए। उनले शिक्षा विधेयक अहिले सबै सरोकारवाला निकायहरुसँग छलफल गरी संसदीय समितिमा रहेको बताए। उनले छिटो ल्याउनुपर्ने शिक्षा विधेयक ल्याउन ढिलाइ भइरहेको पनि उल्लेख गरे।
उनले भने, ‘नेपाललाई एजुकेसनल हब बनाउन सकियो भने त यहीँ आउँछन् नि। गुणस्तरीय शिक्षा प्रदान गर्न सकियो भने विदेशी विद्यार्थी त यहाँ नै आउँछन्। विद्यार्थी मात्रै होइन, कहिले काहीँ उनीहरुका अभिभावक पनि आउँछन्। त्यसले देशलाई माथि उठाउने काम गर्ला नि । यसतर्फ हाम्रो ध्यान जानुपर्छ। शिक्षा विधेयक ल्याउनलाई प्रसव पीडा कसैले खप्नु नपरोस्। बढो मुस्किलले अहिले संसदीय समितिसम्म लैजाने काम भएको छ। सबै स्टेक होल्डरसँग कुराकानी गरेर अघि बढाइरहेको अवस्था छ।’
कार्यक्रममा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले प्याब्सनको एकमात्रै ध्येय नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको बताए। उनले सवा लाख विद्यार्थी विदेश जाने नभइ सवा लाख विद्यार्थी नेपाल भित्र्याउने ध्येय प्याब्सनको रहेको बताए।
अध्यक्ष ढुंगानाले निजी विद्यालयलाई पनि सरकारले नीतिमा सहजता र सरलता, कक्षा कोठा, भौतिक पूर्वाधार विकासका लागि चाहिने सहयोगमा सामुदायिक विद्यालयझैं गरी अघि बढाउन कसरी सक्छ भन्ने बारेमा छलफल गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।