काठमाडौं– सरकारी वकिलले महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता गराएको छ।
गिरीलाई सफाइ दिने गरी भदौ २७ को फैसला त्रुटिपूर्ण भएकाले बदर हुनुपर्ने माग पुनरावेदनमा गरिएको छ। जिल्लाले गरेको फैसलाविरुद्ध सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता बिहीबार गरेको हो।
२०७६ कात्तिक ४ गते चतरास्थित आश्रममा महिला अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोपमा गिरीमाथि बलात्कारको मुद्दा दायर गरिएको थियो। तर दोस्रो पटकको सुनुवाइका क्रममा जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले मुख्य प्रमाणको रुपमा पेस भएको अडियो रेकर्ड परीक्षण गर्ने विज्ञको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सफाइ पाउने फैसला गरेको थियो।
यसअघि २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश (हाल उच्च अदालतका न्यायाधीश) अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो। त्यसका विरुद्ध वादी पक्ष उच्च अदालत पुगेको थियो।
उच्च अदालत विराटनगरले प्रमाण नबुझी फैसला गरेकाले थप प्रमाण बुझेर फैसला गर्नु भन्दै मुद्दालाई जिल्लामै फर्काएको थियो। दोस्रो पटककको फैसलाविरुद्ध पनि सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।