काठमाडौं- नेपाल राष्ट्र बैंकले विदेशी डलरको सञ्चिति बढेको दाबी गरेको छ। चार महिनाको तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले एक महिनामा विदेशी मुद्राको सञ्चिति ४२ करोड डलरले बढेको बताएको छ।
असोजमा १२ अर्ब ३३ करोड डलर रहेको विदेशी विनिमय सञ्चिती कात्तिकमा १२ अर्ब ७५ करोड डलर रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। कात्तिक मसान्तसम्म देशको अवस्था ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्ने रहेको तथ्यांकमा उल्लेख छ।
कात्तिक मसान्तमा नेपाली मुद्रामा विदेशी विनियम सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति कात्तिक मसान्तसम्म १४ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ रहेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति कात्तिकसम्म २ खर्ब ५ अर्ब ९५ करोड कायम भएको छ। कात्तिक मसान्तसम्म विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।