काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनामा शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको तथ्यांक सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्मको वित्तीय विवरण प्रकाशित गर्दै राष्ट्र बैंकले मुलुकको बाह्य क्षेत्र निकै मजबुत अवस्थामा रहेको दाबी गरेको छ।
समीक्षा अवधिमा मुलुकको गत आर्थिक वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको बिहीबार सार्वजनिक तथ्यांकमा उल्लेख छ।
चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेकोले अर्थतन्त्र सुधारतिर अघि बढेको राष्ट्र बैंकको दाबी छ। गत आर्थिक वर्षको यसै अवधिमा चालु खाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा रहेको थियो।
मुलुकको बाह्य क्षेत्रमा सुधार भएसँगै विदेशी मुद्राको सञ्चिति पनि बढेको छ। आयातमा भएको कमी र रेमिट्यान्समा वृद्धिका कारण विदेशी मुद्राको सञ्चिति बढेको तथ्यांकमा उल्लेख छ।
गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति ८.९ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नेपालसँग १२ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति रहेको छ। उक्त सञ्चितिले १३.६ महिनाको वस्तु तथा ११.३ महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।