काठमाडौं– सुदुरपश्चिम सरकारले इजरायलमा हमासको आक्रमणमा मारिएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई राहत रकम आज टिकापुरमा हस्तान्तरण गरेको छ।
प्रदेश सरकारले प्रति विद्यार्थी दुई लाखका दरले सात विद्यार्थीका परिवारलाई राहत रकम दिएको हो। सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र नेपालका लागि इजरायलका राजदूतको उपस्थितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले राहत रकम मृतक बिध्यार्थीका आफन्तलाई प्रदान गरेका हुन्।
गत ७ अक्टोबरमा इजरायलमा हमासले आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो, वीपीन जोशी अपहरणमा परेका थिए।
मारिएका १० मध्ये ७ विद्यार्थी सुदुरपश्चिमका हुन्। सुदूपश्चिम विश्वद्यालयका कृषि क्याम्पस टीकापुरमा अध्ययनरत विद्यार्थीहरु लर्न र अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका थिए।
इजरायलमा विद्यार्थी मारिएपछि सुदूरपश्चिम सरकारले मृतकका परिवारलाई राहत स्वरुप प्रतिपरिवार दुई लाख दिने निर्णय गरेको थियो। राहत रकम हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश सरकारले गरेको सहयोग थोरै भए पनि परिवारलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।