काठमाडौं– ३ लाख २७ हजार रुपैयाँ बढी मूल्यको अवैध हिरासहित प्रहरीले काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भइ काठमाडौंको सुन्धारा बस्ने ४४ वर्षीय सञ्जय मैती छन्।
प्रहरीले उनलाई सोमबार राति काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ गरेको हो। वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोस्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा अवैध हिरा फेला परेको थियो।
हिराको बिल नभएको तथा अवैध तरिकाले भारतबाट आयात गरिएको जस्तो देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुन–चाँदी व्यवसायीबाट परीक्षण गर्दा बरामद पत्थर हिरा भएको पुष्टि भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।