काठमाडौं– संयुक्त अरब इमिरेट्स(युएई)ले सन् २०१९ को जनवरीमा आयोजना गर्ने अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा सहभागिताका लागि नेपाललाई निमन्त्रणा गरेको छ। मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटी नेपालका लागि युएईका राजदूत सइद हमदान अल नक्वीले निमन्त्रणा दिएका हुन्।
भेटका क्रममा युएईले १ सय ७० देशको सहभागिता हुने गरी सम्मेलन गर्न लागेको राजदूतले जानकारी गराए। उक्त सम्मेलनमा प्रत्येक वर्ष नेपालले प्रतिनिधित्व गर्दै आएको छ। गत वर्ष तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले समेत उक्त सम्मेलनमा भाग लिएका थिए।
सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमासमेत छलफल भएको थियो। शिष्टाचार भेटका क्रममा नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
भेटवार्ताको क्रममा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए। मन्त्री पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसमा सहकार्यका लागि प्रस्ताव गरेका थिए। उनले लगानीको सुरक्षाका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने भन्दै ढुक्क भएर लगानी गर्न युएईका लगानीकर्तालाई सन्देश पुर्याइदिन आग्रह गरेका थिए।
युएईले नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी गर्दै आइरहेको राजदूतले भेटमा अवगत गराए। ऊर्जामा युएईको लगानी आवश्यक परे सरकारसँग औपचारिक आग्रह गर्न राजदूतले आग्रह गरेका छन्। त्यसपछि युएईले लगानी प्रक्रिया अघि बढाउन सक्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।