काठमाडौं- मुलुकको आर्थिक व्यवस्थाको मेरुदण्डको रुपमा रहेको मधेश प्रदेस र त्यहाँको आर्थिक सम्भावनालाई केन्द्र सरकारले अवमूल्ययन गरेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टि जनाएका छन्।
शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘मधेस प्रदेशका औद्योगिक/व्यावसायिक समस्या विषयक नाफिज सम्वाद’ कार्यक्रममा बोल्दै मधेस प्रदेशका उद्योगी व्यवसायीहरुले यस्तो धारणा राखेका हुन्।
मधेस प्रदेश र नेपाल भारत सीमाको अर्थ-वाणिज्यको अवस्था, त्यसबाट नेपालले लिन सक्ने लाभ र उद्योगी व्यवसायीले भोगिरहेको समस्या केन्द्र सरकारलाई सुनाउन काठमाडौं आएका उद्योगी व्यवसायीहरु सम्मिलित सम्वादमा उनीहरुले आफूहरु उपेक्षामा परेको बताए।
देशको अर्थ व्यवस्था धान्ने उद्योग र व्यापारको हब रहेको मधेस प्रदेश केन्द्र सरकार (काठमाडौं) को प्राथमिकतामा नपर्दा उद्योग धन्दा, व्यापार र जनशक्ति पलायन भएको नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश अध्यक्ष अशोक तेमानीले बताए।
‘उद्योग पूर्ण क्षमतामा चल्न सकेको छैन, व्यापार गर्नेहरु पलायन भइरहेका छन्, काम गर्ने जनशक्ति विदेश हिँडिरहेका छन्,’ तेमानीले भने, ‘अर्थ व्यवस्थाको मेरुदण्ड बोर्डरमा छ तर नीति निर्माता काठमाडौंमा।’
नेपालको आर्थिक क्षेत्रलाई नेपाल-भारत सीमा क्षेत्रले नियन्त्रण गरेको तर व्यापारीका नेतादेखि राजनीतिक नेतृत्व र नीति निर्माताले त्यो नबुझेको अध्यक्ष टेमानीले बताए। मधेसको खास समस्या के-के हुन् भनेर काठमाडौंलाई बुझाउन आएको भन्दै तेमानीले भने, ‘हामी नेपालीलाई रोजगार कसरी दिने र अर्थतन्त्र कसरी चलायमान बनाउने भन्ने बुझाउन आएका हौं।’
कच्चा पदार्थ थोरै मात्रामा ल्याउँदा १५ प्रतिशत र धेरै मात्रामा आयात गर्दा १० प्रतिशत पार्ने नीतिले साना उद्योग मारा नीतिले मधेसको उद्योग व्यवसाय चौपट भएको उनको दाबी छ।
संघका वरिष्ठ उपाध्यक्ष एवं जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार महासेठले मधेसको कृषि,उद्योग, धार्मिक पर्यटनको सम्भावना केन्द्र सरकारको प्राथमिकतामा नपरेको बताए। भर्खरै बामे सर्दै गरेको प्रदेश सरकारले केही कामको सुरुवात गरे पनि आर्थिक सम्भावना र पर्यटनको प्रचुर लाभका लागि केन्द्र सरकारका योजनाहरु नभएको उनको भनाइ छ।
उद्योग व्यापार र मधेसको अर्थतन्त्रबारे केन्द्र सरकारलाई झकझक्याउन र अन्तर प्रदेश आर्थिक सम्भावना खोज्न काठमाडौं आएको समितिले सरकारलाई ध्यानाकर्षणपत्र पनि बुझाएको छ। १५ बुँदे ध्यानाकर्षणपत्रमा मधेस प्रदेशमा ३ वटा नयाँ औद्योगिक क्षेत्रको स्थापना गर्न, निजगढ विमानस्थल निर्माण गर्न, विभिन्न स्थानमा रहेको भन्सार नाकाको स्तरोन्नति गर्न, सिमरा विमानस्थलको स्तरोन्नति गर्न पनि सरकारसँग माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।