काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन्। शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
गभर्नर अधिकारीले उद्योगी, व्यवसायीहरुले बैंकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए। उनले राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गराएको उल्लेख गरे।
उनले बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरुलाई आग्रह गरे। बैंकले १६/१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न पनि उनले व्यवसायीलाई आग्रह गरे। गभर्नर अधिकारीले व्यवसायीहरुले बैंकहरुले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेहरुका लागि प्रोत्साहन मिल्ने बताए।
ठूला व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशतभन्दा बढी ब्याज नतिरेको गभर्नर अधिकारीले दाबी गरे। बैंकहरुको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरुले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको पनि अधिकारीले जिकिर गरे। उद्योगी, व्यवसायीहरुले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको उनको भनाइ छ। आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरुलाई व्यक्तिगत रुपमा समस्या परेको भन्दै अधिकारीले उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।