काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बिहीबारको निर्णयानुसार शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाइएको हो।
निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको छ। पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ प्रतिलिटर घटाइको हो।
मूल्य घटाइएपछि पहिलो वर्गअन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पेट्रोल प्रतिलिटर १६७ रुपैयाँ र डिजेल तथा मट्टितेल १५७ रुपैयाँ कायम भएको छ। दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल १६९ रुपैयाँ र डिजेल १५९ रुपैयाँ कायम भएको छ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल १७० रुपैयाँ र डिजेल १६० रुपैयाँ कायम भएको छ।
इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट मंसिर १४ गते, बिहीबार प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य २.१२ रुपैयाँ तथा डिजेलको मूल्य ४.०९ रुपैयाँले घटेर आएको निगमको भनाइ छ।
एलपी ग्यासको मूल्यमा भने प्रतिसिलिण्डर २१.१४ रुपैयाँले वृद्धि भइ प्रतिसिलिण्डर नोक्साी ३०० रुपैयाँ पुगेको निगमको दाबी छ। तर आम उपभोक्ताको हितलाई मध्यनजर राख्दै खाना पकाउने ग्यासको मूल्य नबढाइएको निगमको भनाइ छ।
निगमले हाल खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८९५ रुपैयाँ तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।