काठमाडौं– उद्योगी, व्यवसायीहरुले ‘उपभोक्ता हित संरक्षण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मान्य नहुने चेतावनी दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले उद्योगीहरुलाई जेल सजाय दिने कानुनी व्यवस्था गरिएको सो विधेयक मान्य नहुने चेतावनी दिएका हुन्।
सोमबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विधेयकमाथि गरेको छलफलमा भाग लिँदै उनले उद्योगीहरुले गल्ती गरे आर्थिक सजाय दिने व्यवस्था सो विधेयकमा गर्न पनि समितिको ध्यानाकर्षण गराए।
महासंघका केन्द्रीय सदस्य दिनेश श्रेष्ठले लोकतान्त्रिक व्यवस्था सुहाउँदो पनि नभएकाले सो विधेयक पुनर्लेखन गर्नुपर्ने माग गरे। उनले सो विधेयक कानुनको रुपमा आए त्यसले मुलुकको उद्योग क्षेत्रलाई समाप्त पार्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।
विधेयकमा गुणस्तरीय वस्तु उत्पादन नगर्ने उद्योगीलाई जेल सजाय दिने, ठूलै क्षतिपूर्ति लिने प्रावधान राखिएको छ। सो प्रावधानले उद्योगधन्दा समाप्त हुने उद्योगीहरुको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।