काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताएका छन्।
शनिबार नेपाल आर्थिक पत्रकार संघको १५औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमाभन्दा पनि सबै पक्षहरुलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनु आवश्यक रहेको बताए।
‘पछिल्लो समय समय विदेशी मुद्रा सञ्चिति,पर्यटनमा वृद्धि, बैंकमा तरलता सहजता भएको अवस्था छ। पछिल्लो विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदा अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै गएकाले अर्थतन्त्र पूर्ण चलायमान बनाउन विश्वास बढेको छ’, उनले भने।
उनले अर्थतन्त्रमा देखिएका समस्याका कारण सर्वसाधारणहरू लगानी गर्न डराइरहेको भन्दै सबै निकायहरुको साझा अजेण्डा अर्थतन्त्र सुधार गर्ने भएमा भने मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुने बताए। अहिले एक आपसमा आरोपप्रत्यारोप गर्नेभन्दा पनि कहाँ–कहाँ कसरी बढ्न सकिन्छ भने बहस गरी अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ।
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र बलियो बन्नको लागि कानुन,नीति हुनुपर्ने बताए। मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था अफ्ठ्यारो अवस्थामा रहेको उनको भनाइ थियो।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औं वार्षिकोत्सवको अवसरमा ३ पत्रकार र प्लानिङ २.० नामक जर्नल विमोचन गरिएको छ। एक लाख राशीको पुरस्कार रातोपाटीका प्रयास श्रेष्ठले पाएका छन्। सिबिफिन बैंकिङ पत्रकारिकता पुरस्कार केटिएम भ्वाइसका रोयल आचार्य र सिबिफिन आर्थिक पुरस्कार विकासन्यूजका सन्तोष रोकायलाई प्रदान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।